विराटनगर। मोरङको बुढीगंगा गाउँपालिकामा सहुलियतमा विद्युतीय चुलो वितरण गरिएको छ। स्थानीयलाई चुलो वितरणसँगै यसको प्रयोगको बारेमा अभिमुखीकरण समेत गरिएको थियो । स्वच्छ, आधुनिक र जलवायुमैत्री खाना पकाउने प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यका साथ गाउँपालिकाका २ हजार ५ सय घरधुरीलाई विद्युतीय चुलो वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
कार्यक्रममा छनोट भएका लाभग्राहीहरूलाई चुलो हस्तान्तरण गर्नुका साथै यसको सुरक्षित र प्रभावकारी सञ्चालन, उपयुक्त भाँडाकुँडाको प्रयोग, विद्युत् सुरक्षा तथा ऊर्जा दक्षताका विषयमा व्यवहारिक प्रशिक्षण दिइएको उर्जा प्रवद्र्धन केन्द्रका प्रदेश उर्जा अधिकृत सुशीला ढकालले जानकारी दिईन्।
पालिकाका बिभिन्न वडाहरुबाट वितरण गरिएको विद्युतीय चुलो हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष जीत नारायण थापा, उपाध्यक्ष अमृता कुमारी गच्छदार सहित पालिकाका जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । चुलो वितरण कार्यक्रममा पालिकाका अध्यक्ष थापाले एलपी ग्यास र दाउरामाथिको निर्भरता घट्ने, स्वदेशी विद्युतको खपत बढ्ने र घरभित्रको धुवाँजन्य प्रदूषण न्यूनीकरण हुने अपेक्षा गरिएको बताए।
नेपाल सरकार, हरित जलवायु कोष, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र स्थानीय तहको साझेदारीमा सञ्चालित ५ वर्षे ‘स्वच्छ खाना पकाउने समाधान’ परियोजनाअन्तर्गत यो कार्यक्रम आयोजना गरिएको हो। तराईका २२ जिल्लाका १५० स्थानीय तहमा सञ्चालित यस परियोजनाले ५ लाख विद्युतीय चुलो, ४ लाख ५० हजार सुधारिएको चुलो र १० हजार घरेलु बायोग्यास गरी कुल १० लाख घरधुरीलाई समेट्ने लक्ष्य राखेको परियोजनाले जनाएको छ। कुल ७० प्रतिशत अनुदान तथा आम उपभोक्ताको २३ प्रतिशत लागत साझेदारीमा यो अभियान शुरु भएको हो।











