सुनसरी । सुनसरीको रामधुनी स्थित झुुम्कामा सुरु भएको ‘झुम्का च्यालेन्ज कप’ फुटबल प्रतियोगिताको उद्घघाटन खेलमा धरान–५ स्पोर्टिङ क्लब विजयी भएको छ ।
आइतबार भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ पकलीलाई ३–२ गोल अन्तरले पराजित गर्दै धरानले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
पिप्राहा मैदान झुम्कामा भएको प्रतिस्पर्धात्मक खेलमा धरानका लागि एञ्जल राईले दुई तथा विवेक राईले एक गोल गरे ।
एञ्जलले खेलको १३ औँ र ३२ औँ मिनेटमा गोल गर्दै पहिलो हाफमै धरानलाई २–० को अग्रता दिलाएका थिए । दोस्रो हाफमा एपीएफ पकलीले उत्कृष्ट पुनरागमन गर्दै खेल बराबरीमा ल्याएको थियो ।
एपीएफका मन्दिप राईले दोस्रो हाफको १० औँ तथा सुनिल खड्काले ३० औँ मिनेटमा गोल गरेपछि खेल २–२ को बराबरीमा पुगेको थियो ।
तर निर्धारित समयको खेल सकिएपछि थप गरिएको तीन मिनेटको अतिरिक्त समयमा विवेक राईले निर्णायक गोल गर्दै धरानलाई ३–२ को रोमाञ्चक जित दिलाए ।
निर्णायक गोलसँगै धरान स्पोर्टिङ क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
झुम्का फुटबल क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा आयोजक सहित सुनसरी, मोरङ र आसपासका क्षेत्रका आठ टोली सहभागी छन् ।
प्रतियोगिताको फाइनल खेल भदौ १४ गते हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ तथा उपविजेताले ३१ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई १ हजार १ सय ११ रुपैयाँ तथा उत्कृष्ट विधाका खेलाडीलाई जनही १ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।











