इटहरी । सुनसरीका ३२ विद्यालयबीच आयोजित चौथो संस्करणको स्वर्गीय बुधरानी चेम्जोङ लिम्बु मेमोरियल अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि पूर्वाञ्चल सेकेण्डरी स्कुलले जितेको छ।

सोमबार भएको फाइनलमा पूर्वाञ्चलले सयपत्री बोर्डिङ स्कुल तरहरालाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।

निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टी सुटआउटमा पूर्वाञ्चलले बाजी मार्दै उपाधि आफ्नो पक्षमा पारेको हो।

झुम्कास्थित अल स्पोर्ट्स कलेक्सनको आयोजनामा इटहरी–५ स्थित पाथीभरा फुटसलमा आइतबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव बिप्लव घोषले गरेका थिए।

बालबालिकामा खेलसम्बन्धी कौशल विकास गर्ने तथा उनीहरूको रुचिअनुसार विभिन्न खेलमा अघि बढ्न प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। 

प्रतियोगिता भदौ ७ र ८ गते गरी दुई दिन सञ्चालन भएको हो। प्रतियोगिताका खेल बिहान ७ बजेदेखि सुरु भएका थिए।

प्रतियोगिता ७ ए साइडको ढाँचामा सञ्चालन गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले नगद ४० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेताले नगद २० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र गरेको छ ।

बालबालिकालाई ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित खेलकुदमा सक्रिय बनाउने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको आयोजकले जनाएको छ।