धुन्चे । भदौ १० गते भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले चीनसँगको सीमा नाका रसुवागढीदेखि चितवनको नारायणगढसम्म व्यापक क्षति पुर्याएको छ। बाढीले सडक सञ्जाल र भौतिक संरचनामा ठूलो नोक्सानी गरेपछि प्रभावित क्षेत्रमा उद्धार र राहत व्यवस्थापनको प्रमुख विकल्प हवाई मार्ग बनेको छ। अहिले सरकारले बाढी प्रभावितहरूको सुरक्षित उद्धार र अत्यावश्यक सामग्री आपूर्तिका लागि सघन रूपमा हेलिकप्टर परिचालन गरिरहेको छ।
सम्पूर्ण हवाई उद्धार र राहत वितरणको केन्द्रविन्दु यतिबेला रसुवा जिल्लाको सदरमुकाम धुन्चेलाई बनाइएको छ। उद्धार तथा व्यवस्थापनको कार्यलाई तीव्रता दिन धुन्चेबाट निरन्तर हेलिकप्टर उडान र अवतरण भइरहेका छन्। उद्धार कार्यको चाप यति धेरै छ कि धुन्चेमा अवतरण गर्न पालो नपाएर हेलिकप्टरहरू लामो समयसम्म आकाशमै होल्ड हुनुपर्ने अवस्था सिर्जना भएको छ। काठमाडौँ र त्रिशूलीबाट अत्यावश्यक राहत सामग्री ओसार्ने र धुन्चेबाट स्याफ्रुबेँसी, टिमुरे लगायतका अति प्रभावित स्थानहरूमा उक्त सामग्री पुर्याउने काममा हेलिकप्टरहरूलाई निरन्तर परिचालन गरिएको छ।
स्थलमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा नागरिकहरू चरम मारमा परेका छन्। विशेषगरी गोसाइँकुण्ड गाउँपालिकाका वडा नम्बर १ देखि ५ सम्मका बस्तीहरू सडक सञ्जालबाट पूर्ण रूपमा विच्छेद भएका छन्। सडक सम्पर्क टुटेपछि ती क्षेत्रका बासिन्दासम्म पुग्ने र उनीहरूको उद्धार तथा राहत व्यवस्थापन गर्ने एक मात्र भरपर्दो विकल्प अहिले हेलिकप्टर नै बनेको छ। कठिन भौगोलिक अवस्था र विपद्का बीच पनि हवाई मार्गबाटै अधिकतम प्रभावितहरूलाई सुरक्षित राख्ने प्रयास भइरहेको छ।











