इटहरी । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शनिबार इटहरीसहित सुनसरीका विभिन्न स्थानमा राधाकृष्ण रथयात्रा निकालिएको छ ।
इटहरी, सुनसरी सदरमुकाम इनरुवा, दुहबी, हरिनगर, भोक्राहा–नरसिंह लगायतका स्थानमा धार्मिक तथा सांस्कृतिक झाँकीसहित रथयात्रा निकालिएको हो ।
इटहरीमा निकालिएको रथयात्रामा भगवान् श्रीराधाकृष्णको प्रतिमा राखिएको रथसहित भक्तजन तथा श्रद्धालु सहभागी भएका थिए ।
विभिन्न स्थानको परिक्रमा गराइएको रथयात्रामा स्थानीयवासी, विभिन्न समुदायका श्रद्धालु तथा सामाजिक संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
श्रीकृष्ण जन्माष्टमीका अवसरमा प्रत्येक वर्ष निकालिँदै आएको राधाकृष्ण रथयात्राले धार्मिक आस्थासँगै सामाजिक सद्भाव र सांस्कृतिक एकतालाई बलियो बनाउने आयोजकको विश्वास छ ।

यस्तै, सुनसरी सदरमुकाम इनरुवामा पनि राधाकृष्ण रथयात्रा निकालिएको छ ।
इनरुवा–३ मा रहेको राधाकृष्ण मन्दिरबाट निकालिएको रथयात्रा नगरका विभिन्न भागको परिक्रमा गर्दै पुनः मन्दिरमा पुगेर समापन भएको मन्दिर समितिका अध्यक्ष केशरी निरौलाले जानकारी दिए ।

निरौलाका अनुसार रथयात्रामा भगवान् श्रीराधाकृष्णको प्रतिमा राखिएको रथलाई नगरका विभिन्न भागमा परिक्रमा गराइएको थियो ।
रथयात्रामा विभिन्न समुदायका श्रद्धालु, भक्तजन, स्थानीयवासी तथा सामाजिक संघसंस्थाका प्रतिनिधिको उल्लेखनीय सहभागिता रहेको थियो ।

रथयात्रालाई व्यवस्थित र सुरक्षित बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।
श्रीकृष्ण जन्माष्टमीकै अवसरमा सुनसरीका कोसी, भोक्राहा–नरसिंह, हरिनगर, देवानगञ्ज, गढीलगायतका स्थानमा मेला समेत लागेको स्थानीयवासीले बताएका छन् ।

मेला भर्न सयौंको संख्यामा स्थानीय तथा भक्तजन सहभागी भएका थिए ।
जन्माष्टमीका अवसरमा हुने यस्ता धार्मिक गतिविधिले जिल्लामा धार्मिक पर्यटन प्रवर्द्धनसँगै विभिन्न समुदायबीचको आपसी सद्भाव र सामाजिक एकता कायम गर्न सहयोग पुग्ने स्थानीयको भनाइ छ ।











