इटहरी । रसुवाको भोटेकोशी महाविपत्तिमा दिवंगत भएकाहरूको मुक्ति तथा बेपत्ता भएकाहरूको सकुशल खोजीका लागि सुनसरीका धार्मिक अनुष्ठानहरुमा धार्मिक पाठ पारायण गरिएको छ । 

आज सरकारले घोषणा गरेको राष्ट्रिय शोक दिवसको अवसर पारेर सुनसरीका विभिन्न मठमन्दिर तथा धार्मिक अनुष्ठानहरुमा सामुहिक रुपमा पाठ पारायण गरिएको हो । 

ब्राह्मण समाज नेपाल सुनसरी र वैदिक कर्मकाण्ड परिषद् सुनसरीको आयोजनामा पण्डित तथा ब्राह्मण पुरोहितहरुले सामुहिक रुपमा श्रीमद्भागवत गीता, पञ्चशुक्त, विष्णु सहस्त्रनाम, गजेन्द्र मोक्ष पाठ गरेका छन् । 

मृत आत्मको चिरशान्तिको कामना गर्दै मोक्ष प्राप्ती तथा वेपत्ताहरुको सकुशल खोजी होस भन्ने कामनाले सामुहिक पाठ गर्ने कार्यक्रम आयोजना गरिएको ब्राह्मण समाज नेपाल सुनसरीका अध्यक्ष बासुदेव बरालले जानकारी दिए । 

सरकारले पनि आज शोक दिवस घोषणा गरेको छ हामीले धार्मिक परम्परा अनुसार पाठ आयोजना गरिएको वैदिक कर्मकाण्ड परिषद सुनसरीका अध्यक्ष प्रा. डा. चन्द्रमणी नेपालले जानकारी दिनुभयो । 

अध्यक्ष बरालका अनुसार सनुसरीको धरानको गीता भवन २२ जना, इटहरीको आँपगाछीमा २५ जना, खनारको शिव मन्दिर २० जना , झुम्का २० जना , इनरुवाको मधेसा २० जना र बराहक्षेत्रमा २५ जनाले सामुहिक पाठ तथा जप गरिएको थियो ।

 ब्राह्मण समाज र वैदिक कर्मकाण्ड परिषदमा आवद्ध सदस्यहरू आफै उपस्थित भएर आफैले पाठ र जप गरेका थिए। सोमबार साँझ इटहरीको तरहराको शिव मन्दिरमा दीप प्रज्वलन गर्ने समेत कार्यक्रम रहेको ब्राह्मण समाज सुनसरीले जानकारी दिएको छ ।