इटहरी । तीज पर्वको अवसर पारेर जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ इटहरी, सुनसरीले इटहरी–४ स्थित निःसहाय बालबालिका सेवा आश्रमका बालबालिकालाई खाना खुवाएको छ । संघले मंगलबार आश्रमको भवनमा कार्यक्रम आयोजना गरी आश्रममा आश्रित बालबालिकालाई खाना खुवाएको हो ।

तीजलाई मनोरञ्जन र सांस्कृतिक पर्वका रूपमा मात्र नभई सामाजिक सेवासँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ ।
‘नारीको सम्मान, संस्कृतिको पहिचान, तीजको उमंग, बालबालिकाको मुस्कान’ भन्ने सन्देशसहित आयोजना गरिएको कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो ।

कार्यक्रममा संघका प्रतिनिधिहरूले चाडपर्वको खुसी समाजका असहाय तथा संरक्षणको आवश्यकता भएका बालबालिकासँग बाँड्नुपर्ने बताए ।
उनीहरूले व्यवसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए ।
आश्रममा रहेका बालबालिकासँग तीजको अवसरमा खुसी साट्दै उनीहरूलाई भोजन गराइएको संघले जनाएको छ ।
संघले यस्ता सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने अध्यक्ष तेजबहादुर पुरीले जानकारी दिए ।











