इटहरी । भोटेकोशी, रसुवा र नुवाकोटमा बाढीपहिरोले ठूलो क्षति पुर्याएपछि सुनसरीका मुस्लिम समुदायले घरघरबाट रकम जुटाएर ६२ लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन् । प्राकृतिक विपत्तिमा परेका नागरिकको राहत र पुनर्निर्माणका लागि जिल्लाका विभिन्न मुस्लिम बस्ती, मस्जिद, मदरसा, विद्यालय, संघसंस्था र व्यक्तिहरूले स्वेच्छिक रूपमा रकम संकलन गरेका हुन् ।
नेपाली मुस्लिम समाज सुनसरीको पहल तथा समन्वयमा संकलित ६२ लाख ४५ हजार ४९ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
सहयोग अभियानमा कुनै एउटा संस्था वा समूहको मात्रै रकम नभई जिल्लाका विभिन्न स्थानमा रहेका मुस्लिम समुदायको सहभागिता रहेको समाजले जनाएको छ ।
मस्जिद र मदरसादेखि निजी विद्यालय, गैरसरकारी संस्था, व्यवसायिक संघसंस्था तथा व्यक्तिगत तहसम्मबाट रकम जुटाइएको हो ।
विपत्तिमा परेका नागरिकलाई सहयोग गर्न धर्म, समुदाय र भूगोलभन्दा माथि उठेर मानवीय दायित्व निर्वाह गर्नुपर्ने सन्देशसहित अभियान सञ्चालन गरिएको समाजका प्रतिनिधिहरूले बताएका छन् । उनीहरूका अनुसार बाढीले प्रभावित नागरिकको तत्कालको आवश्यकता राहत भए पनि क्षतिग्रस्त घर, सडक तथा अन्य संरचनाको पुनर्निर्माणमा पनि सहयोग आवश्यक रहेकाले सरकारी कोषमार्फत रकम पठाइएको हो ।
संकलित रकमको बैंक भौचर र सहयोगदाताहरूको विवरणसहितको कागजात नेपाली मुस्लिम समाज सुनसरीका प्रतिनिधिले सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई हस्तान्तरण गरेका छन् ।
रकम बुझ्दै प्रजिअ अर्यालले प्राकृतिक विपत्तिको समयमा मुस्लिम समुदायले देखाएको सहयोग र ऐक्यबद्धताको प्रशंसा गरे । विपत्तिमा परेका नागरिकको उद्धार, राहत तथा पुनरुत्थानका लागि प्राप्त सहयोग महत्वपूर्ण हुने उनले बताए ।
सुनसरीबाट संकलित रकम प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको छ ।











