विराटनगर । पाँचथरको मिक्लाजुङ गाउँपालिका बाट दुई जना पक्राउ परेका छन् । उनीहरूलाई मिक्लाजुंग ३ का इन्द्रकुमार दमाईको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा आमा छोरा रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको नाम भने प्रहरीले खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिष कर्णले आमा छोरा मिलेर बुबाको हत्या गरेको देखिएको बताए । उनले दुवैलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि म्याद थप गरिएको बताए । प्रहरीका अनुसार पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका–३ की ४३ बर्सिया महिला र उनका १७ वर्षीय छोरा रहेका छन्।
आमा छोरा मिलेर बुबा इन्द्रकुमार दमाईको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको कर्णले बताए । दमाई भदौ २० गते छिमेकी इन्द्र राईको पाखावारिमा मृत अवस्थामा फेला परेका थिए। प्रहरीका अनुसार मृतक दमाईको घाँटीमा सलको पासो लगाइएको थियो। निधारलगायत शरीरका विभिन्न भागमा धारिलो वस्तुले प्रहार गरेको जस्तो चोटसमेत देखिएको थियो। प्रारम्भिक अनुसन्धानबाट दमाईको मृत्यु आत्महत्याबाट नभई हत्या भएको आशङ्का भएपछि प्रहरीले घटनाको थप अनुसन्धान थालेको थियो।
अनुसन्धानका क्रममा पक्राउ परेका आमा छोराले दमाईलाई आफ्नै घरमा बन्चरो र दाउले प्रहार गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। हत्या गरेपछि शवलाई घरनजिकको आल्चाको रुखमा झुन्ड्याइएको र त्यसपछि त्यहाँबाट करिब पाँच सय मिटर तल भिर पाखामा लगेर फालेको उनीहरूले स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा प्रयोग भएको बन्चरोसहित केही हतियारसमेत प्रहरीले बरामद गरेको छ।











