सुनसरी — जलवायु परिवर्तनमा नेपालको भूमिका नगण्य भए पनि यसको क्षतिको भार भने नेपालले निरन्तर खेपिरहेको छ।

बाढी, डुबान, पहिरो, अनियमित वर्षा, बढ्दो तापक्रम र कृषि उत्पादनमा आएको गिरावटले जनजीवन प्रभावित भइरहेका बेला जलवायु परिवर्तनबाट भएको क्षतिको न्यायोचित क्षतिपूर्ति माग्दै सुनसरीमा प्रदर्शन गरिएको छ।

रामधुनी नगरपालिकाका नागरिक समाज तथा सामाजिक अगुवाहरूको अगुवाइमा शनिबार बिहान जलवायु न्यायको माग गर्दै र्‍यालीसहित प्रदर्शन गरिएको हो।

विभिन्न संघसंस्था र विद्यालयका विद्यार्थीसमेत सहभागी र्‍यालीले रामधुनी बजार परिक्रमा गरी कोणसभामा परिणत भएको थियो।

प्रदर्शनकारीले जलवायु परिवर्तनको जोखिम सबैभन्दा बढी भोग्ने समुदायलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, वातावरण संरक्षणलाई प्राथमिकता दिनुपर्ने र जलवायु संकट न्यूनीकरण तथा अनुकूलनका कार्यक्रम प्रभावकारी बनाउनुपर्ने माग गरेका छन्।

नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा अत्यन्त न्यून योगदान गरे पनि जलवायु परिवर्तनको असरबाट भने उच्च जोखिममा रहेको उनीहरूको भनाइ थियो।

हिमाली क्षेत्रमा हिमनदी पग्लिने र हिमताल विस्फोटको जोखिमदेखि पहाडी क्षेत्रमा पहिरो तथा तराईमा बाढी–डुबान र अत्यधिक गर्मीसम्मका समस्या बढ्दै गएको उनीहरूले बताए।

जलवायु परिवर्तनको असरले कृषि, खानेपानी, स्वास्थ्य, पूर्वाधार र स्थानीय अर्थतन्त्रमा समेत क्षति पुर्‍याइरहेको भन्दै प्रदर्शनकारीले जलवायु संकटलाई वातावरणको विषय मात्र नभई नागरिकको जीवन, जीविकोपार्जन र अधिकारसँग जोडिएको मुद्दाका रूपमा लिनुपर्ने बताए।

कोणसभामा सहभागीहरूले ‘हामी जलवायु न्याय चाहन्छौं’ लगायतका नारासहित वातावरण संरक्षण र जलवायु न्यायको माग गरेका थिए।

उनीहरूले जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरणका लागि स्थानीय तहदेखि संघीय सरकारसम्म स्पष्ट नीति र दीर्घकालीन कार्यक्रम आवश्यक रहेको बताए।

नेपालले जलवायु संकटबाट भोगेको क्षतिको तुलनामा त्यसको जिम्मेवारी अत्यन्त न्यून रहेको भन्दै अन्तर्राष्ट्रियस्तरबाट न्यायोचित क्षतिपूर्ति र जलवायु वित्त सुनिश्चित गर्न पनि उनीहरूले सरकारसँग माग गरेका छन्।