विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य हुँ भन्दै सरकारी कार्यालयमा पुगेर धाक धम्की दिने झापा, हल्दीबारीका सुजन विश्वकर्मा पक्राउ परेका छन् ।
प्रधानमन्त्री तथा गृह मन्त्रीसँग निकट सम्बन्ध रहेको भन्दै सरकारी तथा राजनीतिक पदको दुरुपयोग गरी विभिन्न कार्यालय र सङ्घसंस्थामा धाक धम्की दिएको आरोपमा विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको हो ।
२६ वर्षीय विश्वकर्माले आफू रास्वपा केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य रहेको भन्दै धाक धम्की दिने गरेको भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनी केही समयदेखि विभिन्न सरकारी कार्यालय, बैठक तथा शैक्षिक संस्थामा सोही परिचयका आधारमा प्रवेश गर्दै आएका थिए । बैठकमा सोही नक्कली परिचयका आधारमा दबाब तथा धाक धम्की दिँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
उनले दाबी गरेको पद तथा जिम्मेवारी वास्तविक नभएको पाइएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । विश्वकर्मालाई झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले विश्वकर्माले झूटो परिचय दिई कुनै प्रकारको लाभ लिएको वा कसैलाई हानी नोक्सानी पुर्याएको भए जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क राख्न अनुरोध गरेको छ ।
सुजनले गृहमन्त्री सुधन गुरुङ, कानुन मन्त्री शोविता गौतम, सांसद खगेन्द्र सुनुवारलगायतका रास्वपाका नेतासँग खिचिएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।











