विराटनगर । महेश भट्टराई कोशी अस्पताल विकास समितिका पूर्व अध्यक्ष हुन् । उनले कोभिडको महामारीका बेला प्रदेशकै केन्द्रीय अस्पताल व्यवस्थापनको जिम्मेवारीमा रहेर काम गरे । आइसियुको अभाव, डाक्टर नर्स र चिकित्सकको अभावले स्वास्थ्य क्षेत्र कोल्याप्सको अवस्थामा पुगेको थियो । प्रदेशकै केन्दिैय अस्पताल भए पनि फोहोर व्यवस्थापनको समस्या थियो । विभिन्न खाले समस्याका बावजुत तीन वर्ष अस्पताल विकास समितिको अध्यक्ष भएर काम गरेका भट्टराईकै पालामा ७ अर्बको लगानीमा अस्पतालको अत्याधुनिक भवन बनाउने योजना पास भयो । अहिले भवन निर्माणको क्रममा छ । तीन बर्से कार्यकालका विषयमा सञ्चारपाटीले भट्टराईसँग कुराकानी गरेको छ । उनीसँग गरिएको कुराकानीको सम्पादित अंश  

 कोशी अस्पताल विकास समितिको अध्यक्ष भएर जाँदा सुरुमा त्यहाँको अवस्था कस्तो पाउनुभयो ? 
 सुरुमा अस्पताल पुग्दा दैनिक सामान्य प्रक्रियाअन्तर्गत मात्र चलिरहेको अवस्था थियो । म र हाम्रो टिम गइसकेपछि तत्कालीन निमित्त मेडिकल सुपरिटेन्डेन्ट मेसु डा  चुमनलाल दास र विकास समितिबिच छलफल गरी अस्पताललाई सुधारतर्फ लैजाने निर्णय गरर्यौ ।  अस्पताललाई भविष्यको जनसङ्ख्यालाई समेत धान्न सक्ने र पूर्वकै एउटा गहनाका रूपमा विकास गर्न पहिलो पटक विस्तृत परियोजना प्रतिवेदन डीपीआर निर्माण गर्‍यौँ।
डीपीआर  बनाएर अत्याधुनिक भवन निर्माण गर्ने निर्णय त गर्नुभयो, यसका लागि बजेट जुटाउन कत्तिको चुनौती भयो ? 
सरकारले पनि बजेट लगानी गर्न ठोस आधार खोज्दो रहे । हामीले डीपीआर बनाएर लगेपछि सरकारलाई बजेट विनियोजन गर्न सजिलो भयो । सुरुमा तत्कालीन स्वास्थ्य सचिव डा। रोशन पोखरेलसँग पुग्यौँ । उहाँले हामीलाई अर्थ मन्त्रालय लैजानुभयो र तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडासँग छलफल भयो । उहाँले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै बहुवर्षीय योजनाअन्तर्गत साढे तीन अर्ब ३.५ अर्ब  रुपैयाँ स्वीकृत गरिदिनुभयो । सोहीअनुसार अहिले नयाँ अत्याधुनिक भवन निर्माण भइरहेको छ ।
नयाँ भवन बनिसकेपछि जनशक्ति कर्मचारी को व्यवस्थापन कसरी गर्ने योजना बनाउनुभएको थियो ? 
भवन बनेपछि आगामी ५ वर्षभित्र तीन चरणमा गरी करिब १,४३० जना नयाँ कर्मचारी आवश्यक पर्छ भनेर ओएण्डएम सहित अर्थ र स्वास्थ्य मन्त्रालयमा प्रस्ताव पेस गरेका थियौँ । तर, त्यति बेला बजेट अभावका कारण सो प्रस्ताव तत्काल स्वीकृत हुन सकेन र थन्किएर रह्यो ।
 तपाईँ अध्यक्ष हुँदा कोभिड १९ को कडा महामारी थियो। सरकारी अस्पतालहरू कोल्याप्स हुने अवस्थामा थिए, पूर्वाधार र डाक्टरको कमी बिच कसरी काम गर्नुभयो ? 
 त्यो समय हाम्रा लागि ठुलो चुनौती थियो । कोभिडका बिरामीहरूको चाप धेरै थियो र भौतिक संरचनाको निकै अभाव थियो । तर, आम नागरिक, स्थानीय व्यापार सङ्घ र उद्योग सङ्गठनहरूले धेरै सहयोग गर्नुभयो । उहाँहरूले स्वास्थ्य सामग्री र उपकरणहरू उपलब्ध गराउनुभयो । पूर्वाधारको अभावकै बिच हामीले ३२ बेडको आइसीय र १६ बेडको मिनी एनआइसीयूका को व्यवस्थापन गर्‍यौँ । साथै, इमर्जेन्सीमा पनि ८-१० वटा बेडमा अक्सिजन जोडेर बिरामी आउने बित्तिकै बचाउन सक्ने वातावरण बनायौँ। म आफैँ राति १२ बजे उठेर निमुवा पुगी पिक अप भ्यानमा अक्सिजन सिलिन्डर बोकेर ल्याएर बिरामीको ज्यान बचाएको छु । त्यति बेला प्रदेशका अन्य अस्पतालमा अक्सिजन अभावमा ९ जना बिरामीको मृत्यु भएको थियो, तर कोशी अस्पतालमा हामीले अक्सिजन नपाएर एक जना बिरामीलाई पनि मर्न दिएनौँ । यसमा मेसु डा चुमनलाल दास र विकास समितिको सम्पूर्ण टिमले पूर्ण सहयोग गर्यो ।
 अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको काम चाहिँ कसरी अगाडि बढ्यो ?  
 एउटा अक्सिजन प्लान्ट नेपाल सरकार ले दिने निर्णय गर्‍यो भने अर्को वैदेशिक सहयोगबाट प्राप्त भयो ।  बाहिरबाट सिलिन्डर किन्दा कहिले सकिने टुङ्गो हुँदैनथ्यो, प्लान्ट राखेपछि भने अस्पतालमै उत्पादन हुन्थ्यो । ठाउँको अभाव र प्राविधिक कठिनाइका बाबजुद प्राविधिक टोलीलाई बस्ने(खाने व्यवस्था मिलाएर र अस्पतालबाट आवश्यक सहयोग गरेर हाम्रै कार्यकालमा २ वटा अक्सिजन प्लान्ट निर्माण गर्‍यौँ ।
अस्पतालको फोहोर व्यवस्थापन र सरसफाइमा के-के सुधार गर्नुभयो ? 
हामी जानुअघि ट्वाइलेटहरूको अवस्था नाजुक थियो, भवनहरूमा रुख(बिरुवा उम्रेका थिए । हामीले पछाडि वेस्ट म्यानेजमेन्ट ९फोहोर व्यवस्थापन० भवन तयार गरी फोहोर रिसाइक्लिङ गर्ने, सुईहरू छुट्टै राख्ने र सुक्खा र गिलो फोहोर वर्गीकरण गर्ने व्यवस्था गर्‍यौँ । सफाई कर्मचारीहरूलाई पूर्ण रूपमा सक्रिय बनाइयो । हप्ताको एक पटक अनिवार्य रूपमा कर्मचारी भेला गराएर सरसफाइ अभियान चलायौँ, जसमा पछि राजनीतिक दल र सामाजिक सङ्घ(संस्थाहरू समेत सहभागी भए ।
कोशी अस्पतालमा चिकित्सकहरू समयमा नबस्ने, बाहिर जाने पुरानो गुनासो थियो, त्यसलाई कसरी समाधान गर्नुभयो ? 
 चिकित्सकहरू १ २ घण्टा बसेर बाहिर जाने, चिया खान जाने जस्ता अलिअलि समस्या थिए । हामीले सबै डाक्टर साबहरूसँग बसेर कम्तीमा तोकिएको ड्युटी आवर अस्पतालमै बसेर बिरामीको उपचार गरिदिनुस् भनेर समझदारी गर्‍यौँ । त्यसपछि डाक्टरहरू आफ्नो ड्युटीमा बसेर राम्रोसँग काम गर्नुभयो, कोभिडका बेला पनि उहाँहरूले ठुलो सहयोग गर्नुभयो ।