सुनसरी । थारू समुदायको धार्मिक तथा सांस्कृतिक आस्थासँग जोडिएका ग्रामथान, पोखरी, पानीघट्टा र गौचरण क्रमशः अतिक्रमणको चपेटामा पर्दै गएका छन् ।
विकास निर्माण र जग्गा कारोबारका नाममा थारू समुदायका परम्परागत धार्मिक तथा सांस्कृतिक स्थल मासिन थाले पनि तीनै तहका सरकारले संरक्षणमा चासो नदिएको थारू अगुवाहरूले गुनासो गरेका छन् ।
ग्रामथान संरक्षण समिति कोशी प्रदेशको इटहरीमा भएको दोस्रो साधारणसभामा सहभागी थारू अगुवाहरूले समुदायको पुस्तौंदेखिको धार्मिक पहिचान बोकेका स्थलहरू संरक्षणको अभावमा संकटमा परेको बताएका हुन् ।
उनीहरूका अनुसार ग्रामथान केवल पूजा गर्ने स्थल मात्र होइन, थारू समुदायको जन्मदेखि मृत्युसम्मका संस्कार, परम्परा र सामाजिक जीवनसँग जोडिएको सांस्कृतिक केन्द्र हो । तर पछिल्लो समय यस्ता स्थलको जग्गा व्यक्तिको कब्जामा जाने, भौतिक संरचना निर्माण गर्ने र विकासका नाममा स्वरूप परिवर्तन गर्ने क्रम बढेको उनीहरूको भनाइ छ ।
“ग्रामथान हराउनु भनेको एउटा पूजा गर्ने ठाउँ हराउनु मात्र होइन, त्यससँग जोडिएको हाम्रो संस्कार र इतिहास हराउनु हो,” ग्रामथान संरक्षण समिति कोशी प्रदेशका अध्यक्ष तेजनारायण चौधरीले भने, “राज्यले तत्काल यसको अभिलेखीकरण र संरक्षणको कानुनी व्यवस्था गर्नुपर्छ ।” थारू अगुवाहरूले स्थानीय तहलाई भने ग्रामथान संरक्षणमा सबैभन्दा बढी जिम्मेवार हुनुपर्ने बताएका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय धार्मिक तथा सांस्कृतिक स्थलको संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको भए पनि व्यवहारमा त्यसअनुसार काम नभएको उनीहरूको आरोप छ ।
स्थानीय तहले सडक, भवन, बजार तथा अन्य पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदा त्यस्ता विकास आयोजनाको चपेटामा परेका सांस्कृतिक स्थलको संरक्षणलाई प्राथमिकतामा नराखेको उनीहरूको भनाइ छ ।
कतिपय ठाउँमा ग्रामथान रहेको जमिनको स्वामित्व, सीमांकन र अभिलेख नै स्पष्ट नहुँदा अतिक्रमणको जोखिम थप बढेको उनीहरूले बताएका छन् ।
थारू समुदायका धार्मिक स्थलसँगै पानीघट्टा, गौचरण र पोखरी पनि हराउँदै गएको अगुवाहरूको भनाइ छ ।
यी स्थलहरू थारू समुदायको परम्परागत जीवनशैली, कृषि प्रणाली र सामुदायिक अभ्याससँग समेत जोडिएका थिए ।











