सुनसरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नं. ४ मा भएको क्षेत्रीय अधिवेशनको मतगणना तत्काल सुरु गर्न माग गरिएको छ ।

मतदानका क्रममा विवाद भएपछि मंगलबार ७८ प्रतिशत मत खसेको अवस्थामा निर्वाचन प्रक्रिया रोकिएको थियो ।

हालसम्म खसेका मतपत्रसहितका मतपेटिका जिल्ला प्रहरी कार्यलयमा सुरक्षित राखिएको छ ।

मतदान भइरहेका बेला मतपत्रसम्बन्धी विषयमा विवाद उत्पन्न भएपछि दुई पक्षबीच हातहालाहालको अवस्था बनेको थियो ।

विवादकै क्रममा क्षेत्रीय सभापति तथा कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीले मतपेटिका लडाएपछि मतपत्र छरपस्ट पारिदिएपछी  निर्वाचन प्रक्रिया प्रभावित भएको थियो । सोक्रममा केही कार्यकर्ताले उनलाई लखेटेका थिए । 

क्षेत्रीय सभापतिका उम्मेदवार गफार अन्सारी पक्षले भने निर्वाचनमा आफ्नो पक्षको स्थिति बलियो देखिएपछि मनोज साह पक्षले विवाद सिर्जना गरेको दाबी गरेको छ ।

सुनसरी–४ को क्षेत्रीय सभापतिमा गफार अन्सारी र मनोज साहबीच प्रतिस्पर्धा भइरहेको छ ।

गफार पक्षमा सुनसरी–४ का विभिन्न स्थानीय तथा जिल्ला तहका नेताहरू खुलेर लागेका छन । प्रदेश सांसद तथा पूर्वमन्त्री इस्राइल मन्सुरी, सदानन्द मण्डल, भोक्राहानरसिंह गाउँपालिकाका अध्यक्ष अजमल आजाद, पूर्वक्षेत्रीय सभापति जमिल आजाद, बराहक्षेत्र नगरप्रमुख रमेश कार्की, वडाध्यक्ष तेज गुरुङ, कोशी गाउँपालिका–३ का वडाध्यक्ष सुलेमान मन्सुरी लगायतले गफारलाई समर्थन गरेका छन ।

यता, मनोज साह पक्षमा कोशी गाउँपालिकाका अध्यक्ष समेत रहेका अयुब अन्सारीको समर्थन रहेको छ ।

मतदान सम्पन्न भइसकेकाले अब मतगणना सुरु गर्नुपर्ने माग गफार पक्षले राखेको छ ।

निर्वाचन समितिले भने विवाद समाधानका लागि दुवै पक्षसँग सहमतिको प्रयास गरिरहेको जनाएको छ ।

निर्वाचन अधिकृत भरत थापाले सहमतिको प्रयास भइरहेको जानकारी दिए ।

यसैबीच, मनोज साह पक्षले क्षेत्रीय कार्यसमितिका पद बाँडफाँड गरेर सहमति खोज्नुपर्ने अडान राखेको बताइएको छ ।

उक्त पक्षले क्षेत्रीय सचिवसहित सातदेखि आठ जना क्षेत्रीय सदस्य र सातदेखि आठ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि आफ्नो पक्षलाई दिनुपर्ने माग राखेको गफार पक्षको भनाइ छ । तर गफार पक्षले उक्त प्रस्ताव स्वीकार गर्न नसकिने जनाएको छ ।

क्षेत्रीय सभापति र सचिव पद छाड्न नसकिने अडान राख्दै निर्वाचन सम्पन्न भइसकेकाले खसेको मतको तत्काल गणना गर्नुपर्ने मागसहित निर्वाचन समितिसमक्ष निवेदनसमेत दिएको जनाएको छ ।

महाधिवेशन प्रतिनिधिको नामावली तोकिएको समयभित्र केन्द्रमा पठाउनुपर्ने भएकाले विवाद लम्बिँदा निर्वाचन प्रक्रिया नै प्रभावित हुने गफार पक्षको भनाइ छ ।

निर्वाचन समितिले भने दुवै पक्षबीच सहमति जुटाएर विवाद समाधान गर्ने प्रयास भइरहेको जनाएको छ ।