विराटनगर। कोशी प्रदेशमा हुन लागेको मुख्यमन्त्री सम्मेलन सरेको छ। कोशी प्रदेश सरकारको आयोजनामा विराटनगरमा हुने भनिएको अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन २०८३ को मिति सरेको हो।   
कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सम्मेलनको पूर्व निर्धारित मितिलाई संशोधन गर्दै असोज २७ र २८ गते आयोजना गर्ने निर्णय गरेको हो। यसअघि बसेको मन्त्रिपरिषद् बैठकले उक्त सम्मेलन आगामी असोज २२ र २३ गते सञ्चालन गर्ने निर्णय गरेको थियो। प्रदेश राजधानी विराटनगरमा आयोजना हुने यस सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्रीहरूको सहभागिता रहने जनाएको छ। सम्मेलनमा प्रशासनिक तथा वित्तीय अधिकारको बाँडफाँट, सङ्घीयता कार्यान्वयनका क्रममा प्रदेशहरूले भोगिरहेका साझा समस्या तथा प्रदेशहरूबिचको समन्वयका विविध विषयमा छलफल हुने बताइएको छ।
त्यस्तै, विराटनगर महानगरपालिकाको बैजनाथपुरमा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालालाई प्रदेश गौरवको बहु वर्षीय आयोजनाका रूपमा निर्माण सम्पन्न गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाले जानकारी दिए।  शेर्पाका अनुसार, बैठकले प्रदेश निजामती सेवा प्रथम संशोधन नियमावली २०८३ लाई स्वीकृति प्रदान गरेको छ। यसै गरी, आर्थिक वर्ष २०८३÷८४ का लागि सामाजिक विकास मन्त्रालय, पर्यटन, वन तथा वातावरण मन्त्रालय र उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतका निकायहरूका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको शेर्पाले जानकारी दिए।   यस्तै, प्रदेश योजना आयोगको रिक्त सदस्य पदहरूमा विराटनगर महानगरपालिका वडा नम्बर ३ का तोयानाथ खतिवडा (रुपेश) र खोटाङका हरिकुमारी राईलाई आयोगको सदस्य पदमा नियुक्त गर्ने निर्णय भएको छ।