सुनसरी । सुनसरी क्षेत्र नम्बर २ मा सहमतिको नाममा एकलौटी ढंगले महाधिवेशन प्रतिनिधि चयन गर्नु अलोकतान्त्रिक भन्दै नेपाली काँग्रेस सुनसरी क्षेत्र न. २ (क) ले आपत्ती जनाएको छ ।

सुनसरी क्षेत्र नम्बर २ (क) का सभापति सुवेक्छु देवान राईले ध्यानाकर्षण जारी गर्दै आपत्ति जनाएका हुन् । सुनसरी २ को संघीय क्षेत्रमा महाधिवेशन प्रतिनिधि छनौट प्रति गम्भिर ध्यानाकर्षण जनाइएको छ । 

सुनसरी क्षेत्र न. २ को क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधि चयनका लागि सुरु भएको निर्वाचन चिट लैजाने विषयमा विवाद हुँदा रोकिएको थियो । तर रोकिएको निर्वाचन प्रकृया सुरु नगरी सहमतिको नाममा अलोकतान्त्रिक प्रकृयाबाट प्रतिनिधि छनौट गर्न लागिएको भन्दै आपत्ति जनाइएको  हो । 

क्षेत्र २ (क) का सभापति  राईद्धारा जारी गरेको ध्यानाकर्षणपत्रमा महाधिवेशन प्रतिनिधि चयनको निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेपछि सम्पूर्ण उम्मेदवारको उम्मेदवारी फिर्ता गराई निर्वाचन प्रक्रिया अन्त्य नगरी एकलौटी ढंगबाट प्रतिनिधि चयन गर्ने प्रयास लोकतान्त्रिक विधि र प्रक्रियासम्मत नहुने उल्लेख गरिएको छ । 

ध्यानाकर्षणपत्रमा सहमति र एकता कसैको एकल निर्णयबाट नभई सबैको सहभागिता, संवाद, सम्मान र विश्वासबाट निर्माण हुने भनिएको छ । यस्तो अभ्यासले पार्टीका लागि लामो समयदेखि योगदान दिँदै आएका आम कार्यकर्ता तथा नेताहरूको भावना, मेहनत र राजनीतिक अधिकारलाई उपेक्षा गर्ने अवस्था सिर्जना गर्न सक्ने भन्दै कार्यसमितिले चिन्ता व्यक्त गरेको छ।

पार्टीभित्र फरक मत राख्ने अधिकार, छलफल गर्ने अवसर तथा लोकतान्त्रिक प्रक्रियाबाट निर्णयमा पुग्ने संस्कार नेपाली कांग्रेसको मूल पहिचान भएको सभापति राईले पत्र मार्फत भनेका छन् । कुनै पनि निर्णय गर्दा सबै उम्मेदवार, प्रतिनिधि तथा कार्यकर्ताको अधिकार र सहभागितालाई सम्मान गर्दै पारदर्शी, निष्पक्ष र विधिसम्मत प्रक्रिया अवलम्बन गर्न उनले माग गरेका छन् ।

सहमति, सहकार्य र एकताको वास्तविक मर्मलाई आत्मसात् गर्दै निर्वाचन तथा प्रतिनिधि चयनसम्बन्धी सम्पूर्ण प्रक्रिया पार्टीको विधान र लोकतान्त्रिक मान्यताअनुसार पारदर्शी र सहभागितामूलक ढङ्गले अघि बढाउन सम्बन्धित नेतृत्वको गम्भीर ध्यानाकर्षण गराइएको छ।

महाधिवेशन प्रतिनिधि गोप्य रुपमा छाएिको आरोप 

सुनसरी क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधिको नाम गोप्य रुपमा छनौट गरिएको महाधिवेशन प्रतिनिधिका अन्य उम्मेद्वारले आरोप लगाएका छन् । 

गोप्य रुपमा छनौट गरिएको नाम सार्वजनिक गरिएको छैन । रोकिएको निर्वाचन प्रकृया पुरा नगरी जिल्लाका शिर्ष नेताहरुको आपसी सहमतिमा आफु निकट नेताहरुको नाम मात्रै महाधिवेशन प्रतिनिधिको रुपमा राखेको अन्य उम्मेद्वारको भनाई छ । तिव्र विरोध हुने भएकाले तत्काल नाम सार्वजनिक नगरीएको बताइएको छ ।  


sunsari 2 1