सुनसरी । इटहरीको राष्ट्रिय जागृति क्लबले यस वर्षको स्रष्टा सम्मान गायिका लोचन भट्टराईलाई प्रदान गर्ने भएको छ ।
क्लबले प्रत्येक वर्ष कागतिहारका दिन आयोजना गर्दै आएको नगरस्तरीय लोकनृत्य तथा स्रष्टा सम्मान कार्यक्रममा भट्टराईलाई विशेष सम्मान गर्न लागेको हो ।
क्लबले कात्तिक २० गते शुक्रबार इटहरी–९ स्थित जनता माध्यमिक विद्यालयको खेलमैदानमा कार्यक्रम आयोजना गर्ने जनाएको छ ।
दिउँसो ४ बजेदेखि सुरु हुने कार्यक्रममा भट्टराईलाई नेपाली गीतसंगीत क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिनेछ ।
कार्यक्रममा भट्टराईका चर्चित गीतहरू ‘टाढा टाढा नभई जाऊ तिमी’, ‘भेट भयो आज मनको चाहनाले’, ‘माया गरेको चोखो माया पनि देखियो’, ‘आजको दिन कम छैन रमाइलो छिन’, ‘खोटाङ जिल्ला दिक्तेल बजार’, ‘हे दाजै नसताऊ नारीमा’ र ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’ लगायत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
स्रष्टा सम्मानसँगै क्लबले खेलकुद, पत्रकारिता, शिक्षा लगायतका क्षेत्रमा योगदान पुर्याउने प्रतिभाहरूलाई पनि सम्मान गर्ने कार्यक्रम तय गरेको छ ।
कार्यक्रम संयोजक देवी गौतम रविनका अनुसार स्थानीय कला, संस्कृति र प्रतिभाको प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष कागतिहारमा लोकनृत्य तथा स्रष्टा सम्मान कार्यक्रम आयोजना गरिँदै आएको छ ।
राष्ट्रिय जागृति क्लबले खेलकुद क्षेत्रसंगै यस कार्यक्रममार्फत स्थानीय प्रतिभाको पहिचान र प्रोत्साहनका साथै कला तथा संस्कृतिको संरक्षणमा योगदान पुर्याउने लक्ष्य राखेको क्लबका अध्यक्ष केशव कार्कीले बताए ।











