सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकाबाट प्रहरीले ६२ किलोभन्दा बढी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले सार्वजनिक सम्पत्ति डाँका मुद्दामा कैद सजाय भुक्तान गर्न बाँकी रहेका एक फरार प्रतिवादीलाई समेत पक्राउ गरेको छ ।

देवानगञ्ज गाउँपालिका–३ स्थित भित्री सडकमा आइतबार राति १ बजेर ४५ मिनेटमा चेकजाँच गर्ने क्रममा प्रहरीले ६२ किलो २४० ग्राम गाँजासहित देवानगञ्ज–२ का २२ वर्षीय नित्यानन्द यादवलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले देवानगञ्जबाट कप्तानगञ्जतर्फ जाँदै गरेको नम्बर प्लेट नभएको मोटरसाइकल जाँच गर्दा त्यसमा लोड गरिएको अवस्थामा ३१ किलो १०० ग्राम गाँजा जस्तो देखिने पदार्थ फेला पारेको थियो ।

त्यसपछि प्रहरीले घटनास्थल आसपास थप खोजतलास गर्दा सडक छेउको झाडीमा लुकाएर राखिएको अवस्थामा थप ३१ किलो १४० ग्राम गाँजा फेला पारेको थियो ।

बरामद गाँजा र मोटरसाइकलसहित यादवलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी, प्रहरीले बराहक्षेत्र नगरपालिका–९ का २८ वर्षीय नोयनकुमार चन्द्रवंशीलाई पनि पक्राउ गरेको छ ।

सार्वजनिक सम्पत्ति डाँका मुद्दामा अदालतबाट दोषी ठहर भई कैद भुक्तान गर्न बाँकी रहेका चन्द्रवंशीलाई आइतबार बिहान ६ः३० बजे घरबाटै पक्राउ गरिएको हो ।

सुनसरी जिल्ला अदालत इनरुवाले २०८० फागुन २० गते गरेको फैसलाअनुसार चन्द्रवंशीले ७१४ दिन कैद भुक्तान गर्न बाँकी रहेको थियो ।

अदालतको लगत नम्बर ४०४९ अनुसार फरार रहेका उनलाई खोजतलासका क्रममा घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।