सुनसरी । इटहरीको राष्ट्रिय जागृति क्लबले प्रत्येक वर्ष कागतिहारका अवसरमा आयोजना गर्दै आएको नगरस्तरीय लोकनृत्य तथा स्रष्टा सम्मान कार्यक्रम शुक्रबार राति सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपाली गीतसंगीत क्षेत्रमा योगदान पुर्‍याएकी गायिका लोचन भट्टराईलाई यस वर्षको स्रष्टा सम्मान प्रदान गरिएको छ ।

इटहरी–९ स्थित जनता माध्यमिक विद्यालयको खेलमैदानमा आयोजित कार्यक्रममा भट्टराईलाई नेपाली गीतसंगीतको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । कार्यक्रममा उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दा दर्शकहरू सांगीतिक धुनमा झुमेका थिए ।

raja tej

‘टाढा टाढा नभई जाऊ तिमी’, ‘माया गरेको चोखो माया पनि देखियो’, ‘खोटाङ जिल्ला दिक्तेल बजार’ लगायतका गीतले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।

स्रष्टा सम्मानसँगै क्लबले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने अन्य ६ जना व्यक्तित्वलाई समेत सम्मान गरेको छ । पत्रकारितातर्फ विनय बाह्रकोटी, पर्यटनकर्मीतर्फ तेजबहादुर पुरी, क्रिकेट खेलाडीतर्फ दिवस बिष्ट, शिक्षासेवातर्फ रमेश शाह, संगीतकर्मीतर्फ श्याम सुनुवार र ब्याडमिन्टन खेलाडीतर्फ सबिज्ञा दाहाल सम्मानित भएका हुन् ।

उनीहरूलाई इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरी, क्लबका संस्थापक अध्यक्ष रामकुमार सुब्बा, अध्यक्ष केशव कार्की तथा कार्यक्रम संयोजक रविन गौतमलगायतले सम्मान गरेका थिए ।

स्थानीयस्तरमा रहेर आ–आफ्नो क्षेत्रमार्फत समाजमा योगदान पुर्‍याउने प्रतिभाहरूको पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा नगरस्तरीय लोकनृत्य प्रस्तुतिसमेत गरिएको थियो ।

891188262_1637630654723922_388337161717054014_n

विभिन्न समूह तथा कलाकारहरूले नेपाली मौलिक कला, संस्कृति र परम्परा झल्कने लोकनृत्य प्रस्तुत गरेका थिए।

लोकनृत्यका प्रस्तुतिले कार्यक्रममा सांस्कृतिक रौनक थपेको थियो ।

राष्ट्रिय जागृति क्लबले खेलकुद गतिविधिसँगै स्थानीय कला, संस्कृति र प्रतिभाको प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष कागतिहारका दिन लोकनृत्य तथा स्रष्टा सम्मान कार्यक्रम आयोजना गर्दै आएको छ ।

894505602_1637617288058592_7425586019919177322_n

क्लबका अध्यक्ष केशव कार्कीले स्थानीय प्रतिभाको पहिचान, प्रोत्साहन र सम्मानसँगै मौलिक कला तथा संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिइएको बताए । यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो कला, संस्कृति र सिर्जनाप्रति आकर्षित गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।

raja binaya

कार्यक्रम संयोजक रविन गौतमले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई एउटै मञ्चमा सम्मान गर्दै स्थानीय प्रतिभा र सिर्जनालाई प्रोत्साहन गर्ने प्रयास गरिएको बताए । स्थानीय कला, संस्कृति र प्रतिभाको प्रवद्र्धनलाई निरन्तरता दिँदै आएको क्लबको यो कार्यक्रम इटहरीको सांस्कृतिक पहिचान स्थापित गर्ने वार्षिक उत्सवका रूपमा समेत विकास हुँदै गएको छ ।