सुनसरी । इटहरी र सुन्दरहरैँचाको सीमामा रहेको बुढीगंगा–जमुना मुक्तिधाममा छठ पर्वको तयारी तीव्र पारिएको छ । यस वर्ष यहाँ ६५० भन्दा बढी पूजा घाट निर्माण गरिनेछ ।

छठ पर्व सेवा समितिले मंगलबार पत्रकार सम्मेलन गरी घाट निर्माण अन्तिम चरणमा पुगेको जनाएको हो ।

इटहरी र सुन्दरहरैँचाका बासिन्दाले सामूहिक रूपमा मनाउँदै आएको छठ पछिल्लो समय धार्मिक तथा सांस्कृतिक एकताको पर्वका रूपमा स्थापित हुँदै गएको समितिको भनाइ छ । यहाँ ३६ वर्षदेखि व्यवस्थित रूपमा छठ मनाइँदै आएको छ ।

 पर्व व्यवस्थापनका लागि एक सय स्वयंसेवक र २५ सुरक्षागार्ड परिचालन गरिनेछ । भक्तजनका लागि निःशुल्क महाप्रसाद, प्राथमिक उपचार, नागरिक सहायता कक्ष, अस्थायी शौचालय र चियापानीको व्यवस्था गरिएको छ ।

आवतजावत सहज बनाउन चार स्थानमा अस्थायी पुलसमेत निर्माण गरिनेछ ।

समितिका अनुसार यस वर्ष छठ व्यवस्थापनमा २९ लाख ५१ हजार रुपैयाँ खर्च हुनेछ ।

पाँच दिनसम्म मनाइने पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पूजा सम्पन्न हुनेछ ।