सुनसरी । इटहरी र मोरङको सुन्दरहरैँचाको सीमामा रहेको बुढीखोला किनारमा मनाइने छठ पर्वको तयारी तीव्र पारिएको छ ।
पर्वको तयारीस्वरूप शुक्रबार इटहरीमा कलश यात्रा निकालिएको छ । विभिन्न जातजाति र धर्मावलम्बीको सहभागितामा निकालिएको कलश यात्राले छठ पर्व धार्मिक आस्थासँगै सामाजिक तथा सांस्कृतिक एकताको पर्वका रूपमा स्थापित हुँदै गएको सन्देश दिएको छ ।
छठ पर्व सेवा समितिको आयोजनामा इटहरीस्थित राधाकृष्ण मन्दिरअगाडिबाट सुरु भएको कलश यात्रा नगरका विभिन्न भाग परिक्रमा गर्दै बुढीखोला किनार पुगेको थियो ।
यात्रामा महिला, पुरुष तथा विभिन्न समुदायका श्रद्धालुको सहभागिता थियो । कलश यात्रामार्फत छठ पर्वको धार्मिक महत्व र सामूहिक सहभागिताको सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ ।
बुढीखोला किनारमा यस वर्ष ६५० भन्दा बढी पूजा घाट निर्माण गरिँदै छ । गत वर्ष यहाँ ५ सय ५० वटा घाट निर्माण गरिएका थिए ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष एक सयभन्दा बढी घाट थप गरिएकाले छठप्रतिको आकर्षण र सहभागिता बढ्दै गएको आयोजकको भनाइ छ ।
इटहरी र सुन्दरहरैँचाका बासिन्दाले सामूहिक रूपमा मनाउँदै आएको छठ पर्व यहाँ ३६ वर्षदेखि व्यवस्थित रूपमा आयोजना हुँदै आएको छ ।
पछिल्लो समय सुनसरी र मोरङका विभिन्न स्थानबाट मात्र नभई अन्य जिल्लाबाट समेत श्रद्धालुहरू छठ पूजा गर्न बुढीखोला किनार आउने गरेका छन् ।
छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा गर्ने परम्परा छ ।
व्रतालुहरू नदी तथा जलाशय किनारमा पूजा सामग्रीसहित भेला भएर विधिपूर्वक सूर्यको उपासना गर्छन् । प्रकृति, जल र सूर्यप्रतिको आस्था जोडिएको यस पर्वमा परिवारको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरिन्छ ।
यस वर्ष छठ पर्व व्यवस्थापनका लागि २९ लाख ५१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
पूजा घाट व्यवस्थापन, सरसफाइ, विद्युत्, सुरक्षा, स्वयंसेवक परिचालन तथा भक्तजनका लागि आवश्यक सेवा सुविधामा उक्त रकम खर्च गरिने आयोजक समितिले जनाएको छ ।
विभिन्न जातजाति र धर्मावलम्बीको सहभागितासहित निकालिएको कलश यात्राले छठ पर्वलाई धार्मिक अनुष्ठानमा मात्र सीमित नराखी सामाजिक सद्भाव र सामुदायिक एकताको साझा उत्सवका रूपमा समेत स्थापित गरिरहेको छ ।










