सुनसरी । धरानमा आजदेखि रात्रिकालीन प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।
डी–१९ क्लब र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा हुने प्रतियोगिताको उद्घघाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) क्लब काठमाडौं र भारतको झारखण्डस्थित अक्वा फुटबल क्लबबीच प्रतिस्पर्धा हुदैछ ।
यी दुई टोलीबिचको भिडन्त धरान–१६ स्थित धरान रङ्गशालामा साँझ ६ बजे सुरु हुने आयोजकले जनाएको छ ।
महिला फुटबलका राष्ट्रिय खेलाडीहरूको बाहुल्य रहेको एपीएफ र भारतीय पाहुना टोलीबीचको खेलसँगै प्रतियोगिता औपचारिक रूपमा सुरु हुने प्रतियोगिता मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा नेपालका तीन विभागीय तथा अन्य क्लब गरी आठ टोली सहभागी छन ।
प्रतियोगितामा एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती युथ क्लब, गाइघाट फुटबल क्लब, काँकडभिट्टा महिला क्लब, भारतको अक्वा फुटबल क्लब झारखण्ड र आयोजक स्वर्णिम क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले ट्रफीसहित पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँ पाउनेछ ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही १५ हजार पुरस्कार पाउदा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ईभी स्कुटर प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
धरानमा पहिलो पटक महिला फुटबलको अन्तर्राष्ट्रिय क्लबस्तरीय प्रतियोगिता रात्रिकालीन रूपमा आयोजना हुन लागेको हो ।
प्रतियोगिताका खेल सञ्चालनका लागि धरान रङ्गशालामा अस्थायी फ्लडलाइटको व्यवस्था गरिएको आयोजक क्लबका सचिव उमेश जिमीले जानकारी दिए ।
महिला फुटबलको व्यावसायिक विकास, स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसँग प्रतिस्पर्धाको अवसर र धरानलाई महिला फुटबलको गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनको भनाइ छ ।











