सुनसरी । नेपाल पुलिस क्लब रात्रिकालीन प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

बिहीबार राति धरान रङ्गशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक स्वर्णिम फुटबल क्लबलाई ६–० गोलले पराजित गर्दै पुलिसले फाइनल यात्रा तय गरेको हो।

पुलिसको जितमा मीना देउबा र रेखा पौडेलले दुई–दुई गोल गरिन्। बिर्षणा चौधरी र अनुष्का शेर्पाले एक–एक गोल थपिन्।

खेलको पाँचौँ मिनेटमा मीनाले गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिइन्। ३०औँ मिनेटमा रेखाले गोल गरिन् भने ३४औँ मिनेटमा मीनाले व्यक्तिगत दोस्रो गोल थपिन्।

पहिलो हाफमा पुलिस ३–० ले अघि थियो।

दोस्रो हाफमा ५५औँ मिनेटमा रेखाले व्यक्तिगत दोस्रो गोल गरिन्। ६१औँ मिनेटमा बिर्षणा चौधरी र ७८औँ मिनेटमा अनुष्का शेर्पाले गोल थपेपछि पुलिस ६–० ले विजयी भयो।

यसअघि पहिलो सेमिफाइनलमा एपीएफले त्रिभुवन आर्मी फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

अब मङ्सिर ५ गते हुने फाइनलमा पुलिस र एपीएफबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

डी–१९ क्लब र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ईभी स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ।