विराटनगर । कोशी प्रदेश सरकारको मुख्यमन्त्री फेर्ने विषयमा पुन नेकपा एमाले भित्रैबाट दबाब सुरु भएको छ । कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको ठाउँमा तिलकुमार मेन्याङ्वोलाई मुख्यमन्त्री बनाउन एमालेकै असन्तुष्ट प्रदेश सभा सदस्यहरूले दबाब दिन थालेका छन् । मुख्यमन्त्री कार्की एमाले सचिव तथा नेकपा एमाले संसदीय दल कोशीका नेता हुन् । मेन्याङ्वो भने दलका उप नेता हुन् । दलका नेताको स्थानमा उप नेताको नेतृत्वमा सरकार गठन गर्ने विषयमा पार्टी अध्यक्ष केपी ओलीसँग समेत कुराकानी भएको छ ।
असन्तुष्ट प्रदेश सभा सदस्यहरूले मुख्यमन्त्री फेर्ने विषयमा पार्टीका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, प्रदेश इन्चार्ज शेरधन राई समक्ष दबाब बढाएपछि उनीहरूले पार्टी अध्यक्ष केपी ओलीसँग यसै विषयमा कुराकानी गरेका छन् । भेटमा अध्यक्ष ओलीले यस अघिको बाचा अनुसार मुख्यमन्त्री कार्कीले सहज अवतरण गरिदिनु पर्ने बताएका छन् । भेटमा सहभागी एक नेताले अध्यक्ष ओलीलाई उद्धृत गर्दै भने, हिक्मत जी ले यस अघि नै मार्ग प्रशस्त गर्छु भनेकाले उहाँले बाटो खोलिदिनु हुन्छ । उहाँले गर्नु भएन भने म कुरा गर्छु । ती नेताका अनुसार कहिले सम्ममा मार्ग प्रशस्त गर्ने भन्ने विषयमा भने पार्टी अध्यक्ष ओलीले केही पनि भन्नु भएन । उनले पार्टी अध्यक्ष ओली र मुख्यमन्त्री कार्कीका बिचमा कुराकानी भएपछि केही भन्न सकिने बताए ।
मुख्यमन्त्री फेर्ने विषयमा दबाब बढाउन कोशी प्रदेशका असन्तुष्ट सासदहरुले आज पार्टी अध्यक्ष ओलीलाई भेट्ने तयारी गरेका छन् । पूर्व मन्त्री समेत रहेका प्रदेश सभा सदस्य एकराज कार्कीले आज पार्टी अध्यक्षसँग भेट्ने समय मागेको बताए । उनले कोशीको सम सामयिक विषयमा पार्टी अध्यक्षसँग कुराकानी गर्ने बताए ।
नेकपा एमाले र नेकपाका बिचमा प्रदेहरुमा सत्ता साझेदारी गर्ने सहमति हुन अघि कोशीमा एमालेकै प्रदेश सभा सदस्यहरूले मुख्यमन्त्री कार्कीका विरुद्ध गएको साउनमा हस्ताक्षर अभियान सञ्चालन गरेका थिए । मुख्यमन्त्री कार्कीका विरुद्ध बहुमत पुर्याएर दलको नेताबाट हटाए पनि संविधानको धारा १६५ ९५० अन्तरगत गठन भएको सरकार भएकाले मुख्यमन्त्रीको पद नजाने भएपछि सो विषयले पार्टीमा प्रवेश पाएको थियो । मुख्यमन्त्री कार्कीले राजीनामा नदिए सम्म नयाँ मुख्यमन्त्री नबन्ने भएपछि सो बिषय टुङ्गो लगाउन पार्टी अध्यक्ष केपी ओली सहित छलफल भएको थियो ।
एमाले कोशीको नेतृत्व र मुख्यमन्त्री कार्की सहित पार्टी अध्यक्ष केपी ओलीसँग भएको छलफलमा मुख्यमन्त्री कार्की उपयुक्त समय आएपछि आफूले मार्ग प्रशस्त गर्ने बताएका थिए । असन्तुष्ट प्रदेश सभा सदस्यहरूले अव उपयुक्त समय आएको भन्दै मुख्यमन्त्री कार्कीले राजीनामा दिनु पर्ने बताए । कोशीमा अहिले एमाले र नेपाली कम्युनिस्ट पार्टीका बिचमा सत्ता समीकरण छ । काँग्रेससँगको सत्ता समीकरण सकिएपछि मुख्यमन्त्री फेर्ने बिषय केही सम सामसुम भएको भए पनि पुन बल्झिएको छ ।











