विराटनगर।  विराटनगर महानगरपालिकाले महानगरभित्र सञ्चालित ४७ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक फेर्ने प्रक्रिया सुरु गरेको छ।  रिक्त तथा पदावधि सकिन एक महिनाभन्दा कम अवधि बाँकी रहेका प्रधानाध्यापकहरूको नियुक्ति प्रक्रियाका लागि खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त माग गरेको हो। शैक्षिक प्रशासन महाशाखाले एक सूचना जारी गर्दै नगर शिक्षा समितिको २०८३ असोज १९ गतेको निर्णयबमोजिम शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम ९३ अनुसार प्रक्रिया पूरा गरी उपनियम (६) बमोजिम यो विज्ञापन गरिएको उल्लेख छ ।  योग्यता पुगेका सम्बन्धित विद्यालयमा कार्यरत स्थायी शिक्षकहरूले मङ्सिर ९ गतेदेखि मङ्सिर २३ गतेसम्म सम्बन्धित विद्यालयमा दरखास्त पेस गर्न भनिएको छ। 
महानगरपालिकाका अनुसार १६ वटा माध्यमिक र ३१ वटा आधारभूत गरी कुल ४७ सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्ति गरिनेछ। माध्यमिक विद्यालयतर्फ विराट महेन्द्र रात्रि मावि, पोखरिया मावि, दीपज्योति मावि, जनता मावि र गोग्राहा मावि, विराट बहिरा मावि, शिक्षा सदन मावि, आदर्श बालिका मावि, सत्यनारायण मावि र गायत्री संस्कृत मावि, सरस्वती मावि, जनपथ मावि, बाल मावि रानी, बाल मावि जतुवा, जनविकास मावि र सार्वजनिक मावि रहेका छन्।
यसैगरी, आधारभूत विद्यालयतर्फ शिव आवि, सयपत्री परोपकार आवि, शंकरपुर आवि, सहिद आवि, मदननगर आवि, ज्योति आवि, श्री आवि र सिद्धकाली आवि, जनचेतना आवि, बाल मन्दिर आवि र सत्यनारायण आवि छन्। त्यस्तै ज्ञान निकुञ्ज आवि र सुशिक्षा निकुञ्ज आवि, भानु मोरङ आवि, आदर्श आवि, नारायण आवि, अरुणोदय आविमा प्रधानाध्यापक माग गरिएको छ। त्यस्तै जनता आवि दरैया, जनता बाल कल्याण आवि, जनता बाल आवि, विष्णु आवि, विद्या विकास आवि, महामाया भगवती आवि, रघु पति आवि, विराट आवि, दिघी आवि, जनता आवि खोक्साहा, राम आवि, पञ्चकन्या आवि, शिवजी आवि र जागृति आविमा पनि पदपूर्ति हुनेछ। उम्मेदवारको योग्यताका हकमा माध्यमिक तहका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने भनिएको छ। शिक्षाशास्त्र विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण गरी पाँच वर्ष स्थायी सेवा गरेका शिक्षकसमेत उम्मेदवार बन्न पाउनेछन्। त्यस्तै, आधारभूत तहका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ। 
विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख कृष्ण भट्टराईले नियुक्ति प्रक्रियाअनुसार प्रधानाध्यापक बन्न चाहने उम्मेदवारले पाँचवर्षे विद्यालय विकास प्रस्ताव पेस गर्नुपर्ने बताए। उक्त प्रस्तावमा विद्यालयको वर्तमान अवस्था र आगामी पाँच वर्षमा कुन अवस्थामा पुर्‍याउने भन्ने स्पष्ट खाका तथा सूचकहरू समावेश गर्नुपर्ने व्यवस्था छ, उनले भने, छनोट प्रक्रियामा सहभागी भई तोकिएको अङ्क (कम्तीमा ६० अङ्क वा सबैभन्दा बढी अङ्क) ल्याउने उम्मेदवारलाई प्रधानाध्यापक नियुक्त गर्न सकिने  व्यवस्था छ।   यसरी नियुक्त भएका प्रधानाध्यापकले महानगरपालिकासँग कार्यसम्पादन करार गर्नुपर्नेछ। पाँच वर्षको नियुक्तिसँगै हुने कार्यसम्पादन करारबमोजिम काम नगरेमा पालिका प्रमुखले जुनसुकै बेला पदबाट हटाउन सक्ने अधिकार रहनेछ।   हाल नियम ९३ (३) बमोजिम प्रक्रिया पूरा गरी नियुक्ति भइसकेका प्रधानाध्यापक कार्यरत रहेका विद्यालयहरूमा भने पुनः विज्ञापन नगरिएको जनाइएको छ। त्यस्ता विद्यालयमा प्रक्रिया पूरा गरेर खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त भइसकेका कारण ती विद्यालय समेटिएका छैनन्