इटहरी । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभा आगामी मंसिर १२ गते सुनसरीको इटहरीमा हुने भएको छ।

गुरुङ समुदायको भाषा, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले पार्षदसभा आयोजना गर्न लागिएको हो।

‘थातथलो हाम्रो गौरव, अमूर्त सम्पदा हाम्रो पहिचान, संरक्षण र पुस्तान्तरणका लागि १५औँ पार्षदसभा अभियान’ भन्ने मूल नारासहित आयोजना हुने सभाको उद्घाटन गृहमन्त्री सुदन गुरुङले गर्ने कार्यक्रम छ। कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की विशिष्ट अतिथिका रूपमा सहभागी हुनेछन्।

परिषद्का अध्यक्ष धनमान गुरुङका अनुसार संस्थाको संगठनात्मक संरचनालाई थप व्यवस्थित र सुदृढ बनाउँदै गुरुङ समुदायका विभिन्न जातीय, पेसागत तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई एउटै संरचनामा समेट्ने उद्देश्यले सभा आयोजना गर्न लागिएको हो।

महासचिव अधिवक्ता राजु गुरुङले सभामा संस्थाको विधान संशोधन, आगामी नीति तथा कार्यक्रमका साथै गुरुङ समुदायको अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका विषयमा छलफल हुने बताए।

सभामा ६ वटा प्रदेश, ३४ वटा जिल्ला कार्यसमिति, भ्रातृसंस्था तथा पेसागत र विशेष संस्थाका प्रतिनिधिसहित करिब ३५० जनाको सहभागिता रहनेछ। उद्घाटन सत्र इटहरीस्थित दुर्गा पार्टी प्यालेस र बन्द सत्र सत्संग पार्टी प्यालेसमा सञ्चालन हुनेछ।

यसैबीच, कार्यक्रममा भोटेकोशी क्षेत्रका बाढीपीडितका लागि संकलन गरिएको राहत रकम गृहमन्त्री गुरुङलाई हस्तान्तरण गरिने परिषद्का केन्द्रीय उपाध्यक्ष केशरमान गुरुङले जानकारी दिए।

पार्षदसभामा विभिन्न प्रदेशमा सांस्कृतिक स्रोत केन्द्र तथा संग्रहालय स्थापना गर्ने प्रस्तावसमेत पेस गरिनेछ। जसअनुसार लुम्बिनी प्रदेशको रुपन्देहीमा प्येता ल्हुता अध्ययन स्रोत केन्द्र तथा संग्रहालय, कोशी प्रदेशमा रोधी स्रोत केन्द्र तथा संग्रहालय, बागमती प्रदेशको चितवनमा खेमा स्रोत केन्द्र तथा संग्रहालय र गण्डकी प्रदेशमा तमू अन्तर्राष्ट्रिय सांस्कृतिक स्रोत केन्द्र तथा संग्रहालय स्थापना गर्ने विषयमा छलफल हुनेछ।

यी केन्द्रमार्फत गुरुङ समुदायको मौलिक संस्कृति, परम्परा, भाषा र अमूर्त सम्पदाको अभिलेखीकरण, अध्ययन तथा भावी पुस्तामा हस्तान्तरण गर्ने लक्ष्य राखिएको परिषद्ले जनाएको छ।