सुनसरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको नाममा आयोजित ‘हर्क साम्पाङ फुटबल कप २०८३’ बिहीबारदेखि इटहरीमा सुरु भएको छ ।

इटहरीस्थित क्षेत्रीय रंगशालामा भएको उद्घाटन खेलमा युनाइटेड क्लब तरहराले विजयी सुरुवात गरेको छ ।

तरहराले मोरङको पथरी ११ लाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमीफाइनल यात्रा तय गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा पथरी ११ का धिरेन क्षेत्रीले खेलको १४ औं मिनेटमा आत्मघाती गोल गरेपछि तरहराले अग्रता लिएको थियो ।

बाँकी समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि तरहरा विजयी भएको हो ।hk goldcup1

खेलमा उत्कृष्ट प्रदर्शन गरेका तरहराका गोलरक्षक विश्वास चौधरी प्लेयर अफ द म्याच घोषित भए । उनलाई प्रतियोगिता संयोजक रोशन राईले नगद पाँच हजार रुपैयाँ पुरस्कार पदान गरे । प्रतियोगिता अन्तर्गत शुक्रबार रारा फुटबल क्लब राजारानी धनकुटा र चुलाचुली स्पोर्टिङ क्लब झापाबिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

श्रम संस्कृति पार्टी इटहरी युवा नगर समितिको आयोजनामा मंसिर १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कोसी प्रदेसका नौवटा टिमले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिताको विजेताले नगद दुई लाख रुपैयाँ र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

त्यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगिता सम्पन्न गर्न २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आर्थिक संयोजक ताजिना विष्टले जानकारी दिइन् ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उद्धघाटन गरेको प्रतियोगिताको समापन पनि साम्पाङलेनै गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगिताको समापनका दिन गायक राजेश पायल राईको सांगीतिक प्रस्तुति पनि रहने प्रतियोगिता संयोजक रोशन राईले जानकारी दिए ।

खेलकुदमार्फत युवालाई एकताबद्ध गर्ने र खेलप्रतिभाको प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको राईले बताए ।