इटहरी । एमालेले पार्टी सुदृढीकरणका लागि ग्रास रुट अभियान सञ्चालन गर्‍यो । ग्रास रुट अभियानमा केन्द्रीय नेताहरू पनि पालिका तहमा पुगे  प्रदेशस्तरीय नेताहरू वडा तहमा पुग्दै पार्टी भित्र देखिएका समस्याहरू समाधानका लागि इटहरी एमालेले पनि ग्रास रुट अभियान सम्पन्न गरेको छ । इटहरी एमालेको ग्रास रुट अभियान र एमाले इटहरीको आवको कार्यदिशाका विषयमा एमाले इटहरीका सचिव रुपेश बस्नेतसँग सञ्चारपाटीले गरेको कुराकानी 
हाल के मा व्यस्त हुनुहुन्छ ? 
हामीले भर्खरै मात्रै मिसन ग्रास रुट अभियान सम्पन्न गर्‍यौ । ग्रास रुट अभियानका मुख्य कामहरू जस्तै सङ्गठित सदस्य नवीकरण,अद्यावधिक लगायतका काममा व्यस्त छु । अभियानका क्रममा पार्टीको जे परिस्थिति देखिएको छ त्यो परिस्थिति अनुसार रिपोर्ट तयार गरेर जिल्ला र केन्द्रमा पठाउने तयारीमा छु । 

इटहरीमा  ग्रास रुट अभियान कस्तो भयो ? 
यो अभियानले सकारात्मक रूपले पार्टी जीवनमा  नयाँ रक्त सञ्चार गरेको अनुभूति भएको छ । अभियानको क्रममा पार्टी भित्र रहेका विभिन्न समस्या  नजिकबाट नियाल्ने अवसर पाइयो । ती समस्याहरू समाधान गर्दै पार्टी र सङ्गठनलाई चुस्त र दुरुस्त रूपमा अगाडि बढाउनु पर्छ भन्ने महसुस गरेका छौ ।
 
ग्रास रुट अभियानमा कहाँ–कहाँ के–के गर्नु भयो ? 
अभियानको सुरुवातमा पार्टी केन्द्रीय कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटीबाट खटिएर आउनु भएका कमरेडहरू सहितको  सहभागितामा नगर स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गर्‍यौ । त्यस क्रममा पार्टी प्रशिक्षण साथै इटहरीका २० वटै वडाहरूमा सङ्गठन पुनर्गठन, भेला , प्रशिक्षण , नयाँ सदस्यहरू थप्ने ,सदस्यता नवीकरण गर्ने,अद्यावधिक गर्ने र विभिन्न पार्टी गतिविधि गरेर यो अभियान सम्पन्न गरेका छौ ।

पार्टीको अरू कार्यक्रम या अभियानहरू भन्दा ग्रास रुट अभियानमा के फरक फाउनु भयो ? 
पार्टीको विभिन्न अभियानहरू आइरहन्छन् । पार्टीको माघ २६ गतेको केन्द्रीय सचिवालयको बैठकले निर्णय अनुसार देश व्यापी रूपमा सुरु गरेको अभियान हो । यो अभियान इटहरीमा फागुन ५ गतेबाट सुरुवात भई वैशाख ९ गते समापन गर्‍यौ  । यो अभियानबाट तल्ला स्तरका नेता कार्यकर्ता तथा पार्टीकै अवस्था के रहेछ भन्नेबारेमा जानकारी प्राप्त भयो ।  समग्रमा पार्टीको होलवडी चेकअप गर्ने कार्यक्रम भएको छ ।  त्यस क्रममा विभिन्न रोगहरू देखा परेका छन् , रोग अनुसारको औषधी चलाइयो भने त्यो पार्टी गतिशीलता र नयाँ ऊर्जा सहित पुनर्जीवन प्राप्त गर्छ भन्ने मलाई लागेको छ । 

ग्रास रुट अभियान सञ्चालन भएपछि नयाँपन के आयो ? 
निस्चयनै समस्या देखिई सकिएपछि त्यसलाई ठिक ढङ्गले व्यवस्थापन गर्‍यो भने फरकपन त आई हाल्छ पार्टीमा देखिएका समस्याहरूलाई हल गरेर पार्टीलाई जीवन्त साथै गतिशील र ऊर्जाशील बनाउने कुराको थालनीको क्रममा छौ हामी त्यो कुरालाई हामी स्थापित गर्छौ । 

टुटेका, फुटेका र मन दुखाएर बसेका कार्यकर्ताहरूलाई पार्टीप्रति जबाफदेही बनाउन तपाईँको भूमिका कस्तो रह्यो ? 
नेकपा एमालेको अभियानमा जोडिनु भएका पुराना नेता कार्यकर्ताहरू र पछिल्लो समय पार्टीमा जोडिनु भएका धेरै नेता कम्रेडहरु पार्टीको कुनै पनि जिम्मेवारी नहुँदा एक खालको निराशा वितृष्णा उत्पन्न भएको थियो । हामीले वार्ड वार्डमा गएर त्यस्ता खालका मानिसहरू कति रहेछन् को को रहेछन् र उनीहरूलाई कस्तो खालको जिम्मेवारी दिँदा उपर्युक्त हुँदो रहेछ भनेर मूल्याङ्कन गरेका छौ यश सगसगै त्यस्ता खालका मान्छेहरूलाई उचित जिम्मेवारी दिएर पार्टीमा फर्काउने र प्रभावकारी ढङ्गले अगाडि बढाउने भन्नेबारेमा सोचेका छौ । त्यस कदमा अहिलेको नेतृत्व खास गरी पार्टी अध्यक्ष यामकुमार सुब्बा लगायतको सम्पूर्ण टिम लागेका छौ र त्यो हामी गर्छौ पनि । 
आगामी दिनमा पार्टी र सङ्गठन चलायमान बनाउन के गर्नु पर्ने ठान्नु भएको छ? 
नगरको पछिल्लो अधिवेशनले हामीलाई नेतृत्व प्रदान गरेको डेढ वर्ष भई सक्यो विषम परिस्थिति आएन भने अबको १ डेढ वर्षमा नगर अधिवेशन हुन्छ । यो क्रममा हामीले इटहरीका २० वटै वडा तथा केही ठाउँमा रहेका शाखा कमिटीहरूलाई पुनर्गठन गर्नु पर्ने स्थिति छ । स्थानीय तहको निर्वाचन सक्किसकेपछी पार्टीकै अध्यक्षहरू केही ठाउँमा वडा अध्यक्ष र जन प्रतिनिधिहरू भएर आउनु भएको छ । त्यस्तो ठाउँमा दोहोरो जिम्मेवारीका कारण सही ढङ्गले पार्टीको अभियान सञ्चालन हुन सकेको छैन । त्यस्ता ठाउँहरू पहिचान गरी अधिवेशन आयोजना गर्ने तथा अधिवेशन कमिटी गठन गर्ने र केही टोल कमिटीहरूलाई गठन पुनर्गठन गर्ने कार्यलाई तीव्रता दिँदै जाने हाम्रो सोच रहेको छ । 
इटहरी एमालेमा विवाद थियो अभियान पछि सकियो ? कि बाकी नै छ ? 
विवाद थियो भन्ने कुरा सुन्नमा आउँथ्यो ग्रास रुट अभियानमा त्यो विवाद , त्यो विरोध र त्यो अन्तर कलहलाई नजिकबाट देख्ने जान्ने सुन्ने मौका पायौ । अभियानका क्रममा अभियान्ताहरु पनि यो कुरालाई गम्भीर ढङ्गबाट महसुस गर्नु भएको छ । त्यस्तो समस्यालाई हल गर्न उहाँहरूले  केही बैठकहरू गर्नु भएको छ । हाम्रो भन्दा उपल्लो कमिटीमा यो कुराको रिपोर्टिङ हुने नै छ । माथिल्लो कमिटीबाट पनि यो समस्या समाधानका प्रयासहरू निश्चय नै हुनेछ र यसरी इटहरीमा रहेका पार्टी नेतृत्व बिचको अन्तर विरोध हल हुनेछ भन्ने मेरो बुझाई रहेको छ । 
अधिवेशन कहिले हुन्छ ? तपाईँ अध्यक्षको उम्मेदवार हो ? 
नियमित अधिवेशन एक वर्ष पछाडि हुन्छ हाम्रो पार्टी सङ्गठन चाहिँ  नियमित क्रम अनुसार चल्ने भएको हुँदा एक वर्षपछि हुने अधिवेशनमा म अहिले पार्टी कमिटीको सचिव भएकाले निश्चय नै मेरो आकाङ्क्षा अध्यक्षमा रहन सक्ला । 
पार्टी नेतृत्वमा रहेका भूगोल सँग सम्बन्धित नेता कम्रेडहरु र २० वटै वार्डहरूमा रहनु भएका पार्टी प्रति आस्थावान् पार्टीका कार्यकर्ताहरूको इच्छा अनुसार विधिवत् अधिवेशन द्वार र निर्वाचन प्रणाली बाट नेतृत्व छान्ने प्रणाली अन्तरगत हामी हुन्छौँ । त्यस क्रममा भोलि इटहरी नगर कमिटीको नेतृत्व गर्ने अवर प्राप्त भएमा सदुपयोग गरेर अगाडि बढ्ने सोच मेरो रहेको छ ।