विराटनगर । धरानका नगर प्रमुख हर्कराज राईले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि हस्तक्षेप गरेको भन्दै सुनसरीका पत्रकार आन्दोलनमा उत्रिएका छन् । जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको नेपाल पत्रकार महासङ्घ सुनसरीले पत्रकारहरूलाई पटक पटक गालीगलौज  गरेको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।आन्दोलनरत पत्रकार महासङ्घ सुनसरीको आयोजनामा सोमबार धरानमा मौन जुलुस निकालेको छ ।  सुनसरीले आज मौन जुलुस प्रदर्शन गरेको छ । 

४ दिन अघि जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको सुनसरी महासघले प्रेस स्वतन्त्रतालाई सम्मान गर, तिमी शासक कि जनप्रतिनिधि ?, स्वतन्त्र पूर्वक बोल्न र लेख्न देऊ भनेर क्याम्पेनिंग अभियान चलाइएको थियो ।

सोमबार भने प्ले कार्ड छातीमा भिरेर पत्रकारहरूको भानु चोकबाट  मौन जुलुस  निकालेका थिए । जुलुस धरान उपमहानगरपालिकाको गेटमा पुगेर कोणसभामा परिणत भएको थियो ।  मौन जुलुसमा सहभागी पत्रकारहरूले नगर प्रमुख  राईको पत्रकार तथा सञ्चार संस्था प्रतिको अभिव्यक्तिको विरोध स्वरूप नगरपालिकाको गेटमा पत्रकारहरूले मुख थुनेर विरोध जनाएको थिए । 

विरोध प्रदर्शनमा धरानका बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि लगायतको ऐक्यबद्धताका साथै सहभागिता रहेको थियो ।