सुनसरी । कोसी प्रदेश सरकारले प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंसराज वाग्लेलाई बर्खास्त गरेको छ ।  बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सदस्य सचिव वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको हो । गत वैशाखमा   झापामा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ब्यानरमा 'कोसी प्रदेश सरकार' नलेखेको भन्दै वाग्लेलाई दुई पटक स्पष्टीकरण सोधेको थियो । चित्त बुझ्दो जवाफ नदिएको भन्दै बुधवार बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले जानकारी दिए । खेलकुद विकास बोर्ड कोसीका सदस्य सचिव वाग्लेलाई प्रदेश सरकारले  दुई पटक स्पष्टीकरण सोधिएको मन्त्रालय जनाएको छ । वाग्लेको बर्खास्तीसंगै एक दर्जन प्रतियोगिता अनिश्चित बनेका छन् । यसै आर्थिक वर्षको जेठ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने उक्त प्रतियोगिताहरू अनिश्चित बनेसँगै झन्डै २ करोड रुपैयाँ बजेट फ्रिज हुने जोखिम बढेको छ ।