सुनसरी । इटहरीमा जारी कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता अन्तर्गत इलामको आत्मा पवित्र एफसी मासेबुङ र आयोजक इटहरी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेका छन्।

मंगलबार इटहरी रंगशालामा सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा इलामले धनकुटा जिल्ला फुटबल संघलाई ५–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। खेलको सुरुआतदेखि नै इलामले आक्रामक खेल प्रदर्शन गरेको थियो। चौथो मिनेटमै वर्षा ओलीले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। त्यसपछि १५औं मिनेटमा कल्पना जिम्बाले अर्को गोल थप्दै इलामको अग्रता दोब्बर बनाइन्।11

लगातार दबाबमा परेको धनकुटाले खेलमा फर्कने प्रयास गरे पनि इलामको सशक्त मिडफिल्ड र आक्रमणपंक्तिलाई रोक्न सकेन। २५औं मिनेटमा वर्षा ओलीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को मजबुत अवस्थामा पुर्याइन्। पहिलो हाफ सकिनुअघि ३७औं मिनेटमा पुनः गोल गर्दै उनले ह्याट्रिक पूरा गरिन् र इलामलाई ४–० को सहज अग्रता दिलाइन्।

दोस्रो हाफमा पनि इलामको दबाब कायम रह्यो। ६३औं मिनेटमा बिमला चौधरीले अर्को गोल थप्दै टोलीको जितलाई ५–० मा पुर्याइन्। त्यसपछि बाँकी समयमा धनकुटाले केही अवसर सिर्जना गरे पनि गोल गर्न असफल रह्यो।

ह्याट्रिकसहित उत्कृष्ट प्रदर्शन गरेकी वर्षा ओली ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। उनलाई प्रेस युनियन सुनसरीका अध्यक्ष ध्रुव ढकालले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरे।

मंगलबार नै सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा आयोजक इटहरी फुटबल क्लबले गाईघाट फुटबल क्लब उदयपुरलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो। घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरेको इटहरीले सुरुदेखि नै खेलमा पकड जमाउँदै उदयपुरमाथि दबाब कायम राखेको थियो। लगातार आक्रमण र सन्तुलित खेलमार्फत जित निकाल्दै इटहरीले अन्तिम चारको यात्रा तय गरेको हो।mm 1

यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। बुधबार हुने पहिलो सेमिफाइनल खेलमा धरानको फेयर फुटबल क्लब र तेह्रथुमको सृजनशील महिला फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। धरानले काकडभिट्टा महिला फुटबल क्लब झापालाई तथा तेह्रथुमले बेलबारी फुटबल क्लब मोरङलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका हुन्।

यस्तै बिहीबार हुने दोस्रो तथा अन्तिम सेमिफाइनलमा आयोजक इटहरी र इलामबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ। फाइनल विजेताले नगद २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सञ्चालन भइरहेको छ।