सुनसरी – केपीएल कप इन्टरनेशनल इनभिटेसनल टुर्नामेन्ट अन्तर्गत मंगलबार सम्पन्न दुई खेलमा भारतको केसीसी इन्डियाले एचपीसीए पटना इन्डियामाथि १८५ रनको फराकिलो जित निकाल्दा नेपालका छिन्नमस्ता लायन्सले मिल्स क्रिकेट क्लब एन्ड एकेडेमी विराटनगरलाई ४ विकेटले पराजित गरेको छ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित डा. खलिल आजाद क्रिकेट मैदानमा भएको पहिलो खेलमा केसीसी इन्डियाले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २६१ रनको विशाल योगफल खडा गरेको थियो।
केसीसीका लागि भास्कर दुबेले विस्फोटक ब्याटिङ गर्दै केवल ४० बलमा १०३ रनको शतकीय इनिङ्स खेले। उनले ६ चौका र १२ छक्का प्रहार गर्दै मैदानमा पूर्ण दबदबा बनाए। त्यस्तै अल्तामिस वाईले ४८ बलमा ९१ रन बनाउँदै उत्कृष्ट साथ दिए। उनले ७ चौका र ८ छक्का प्रहार गरे। खालिद आलम ९ बलमा २२ रनमा अविजित रहँदा टोलीले २६१ रनको विशाल स्कोर खडा गर्यो।
जवाफी ब्याटिङमा उत्रिएको एचपीसीए पटना सुरुदेखि नै दबाबमा देखियो। ठूलो लक्ष्य पछ्याउने क्रममा नियमित अन्तरालमा विकेट गुमाएको पटना १२.४ ओभरमै ७६ रनमा समेटियो। कुनै पनि ब्याटरले प्रभावशाली प्रदर्शन गर्न नसक्दा टोली फराकिलो हार बेहोर्न बाध्य भयो।
यससँगै केसीसी इन्डियाले १८५ रनको शानदार जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो दाबेदारका रूपमा प्रस्तुत गरेको छ।
त्यसपछि भएको दोस्रो खेलमा मिल्स क्रिकेट क्लब एन्ड एकेडेमी विराटनगरले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०९ रन बनाएको थियो।
मध्यम लक्ष्य पछ्याउन उत्रिएको छिन्नमस्ता लायन्सले १६.४ ओभरमा ६ विकेट गुमाएर ११३ रन बनाउँदै रोमाञ्चक जित हात पार्यो।
छिन्नमस्ताका लागि सन्तोष कार्कीले १५ बलमा २२ रनको उपयोगी योगदान दिए। अविनाश कर्णले १८ बलमा १६ रन बनाउँदा फिरदोस अन्सारीले १९ बलमा १३ रन जोडे।
अन्तिम समयमा अभिषेक कार्कीले १० बलमा २० रन बनाउँदै टोलीलाई जित दिलाए भने दिपेश कँडेल २१ बलमा १८ रनमा अविजित रहे।
मिल्स क्रिकेट क्लबका बलरले सुरुवाती चरणमा केही दबाब बनाए पनि छिन्नमस्ताका ब्याटरहरूले संयमित खेल प्रदर्शन गर्दै लक्ष्य पूरा गरे।
जारी प्रतियोगितामा नेपाल र भारतका ६ टोलीको सहभागिता रहेको छ। प्रत्येक खेलसँगै प्रतियोगिता थप प्रतिस्पर्धात्मक बन्दै गएको छ भने उपाधिको होड पनि रोचक बनेको छ। प्रतियोगिताको विजेताले ट्रफीसहित २ लाख ५१ हजार रुपैयाँ, उपविजेताले १ लाख २५ हजार रुपैयाँ तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

















