विराटनगर । नेपाली काँग्रेस कोसी प्रदेश संसदीय दलले कोसी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ताका लागि माओवादीलाई निरन्तर दबाब दिएको छ । सङ्घमा भएको गठबन्धन र सहमति अनुसार कोसी प्रदेशमा सहमति कार्यान्वयन नभएको भन्दै काँग्रेसले माओवादीलाई हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्न दबाब दिएको छ ।
काँग्रेसको दबाब पछि माओवादी केन्द्र कोसी प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर आङ्वोले समर्थन फिर्ताको बिषय पार्टी केन्द्रको हुने बताएका छन् । उनले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने विषयमा अहिले सम्म पार्टीले निर्देशन नदिएको र छलफल समेत नभएको बताएका छन् ।
कोसी प्रदेश सरकारमा रहेको नेकपा माओवादी केन्द्रलाई हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन नेपाली काँग्रेस कोसी प्रदेश संसदीय दलले औपचारिक पत्र पत्र पठाएको छ ।
सङ्घीय गठबन्धन अनुसार कोसी प्रदेशमा गठबन्धन नभएको भन्दै एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन काँग्रेसले माओवादीलाई पत्र पठाएको हो ।
जेठ ४ गते बसेको काँग्रेस संसदीय दलको बैठकले माओवादी केन्द्र र जसपालाई सरकारलाई दिएको समर्थन फिर्ता गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।
निर्णय भएको भोलिपल्ट काँग्रेस संसदीय दलका नेता उद्धव थापाले माओवादी केन्द्र कोसी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्वोलाई पत्र पठाएका हुन् । पत्रमा अहिलेको सरकारलाई दिएको समर्थन फिर्ता लिएर गठबन्धन दलहरूको सरकार निर्माण गर्ने वातावरण तयार गर्न आग्रह गरिएको छ । पत्रमा गठबन्धन दलहरूको मर्म र भावना अनुरूप कोसी प्रदेशमा पनि सङ्घीय गठबन्धन अनुरूप नै सरकार गठन गर्नको लागि वातावरण तयार गर्न आग्रह गरिएको छ ।
नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापाले पठाएको पत्र प्राप्त भएको माओवादी केन्द्र कोसी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले बताए ।
उनले आफलाई प्राप्त भएको पत्र प्रधानमन्त्री तथा पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाललाई पठाउने बताए ।
बजेट पास, विधेयकहरू पास गर्ने नगर्ने विषयमा हामी आफै निर्णय गर्छौ । उनले भने सरकारलाई दिएको समर्थन फिर्ता लिने या नलिने विषयमा भने केन्द्रको निर्देशन पर्खिने छौ । उनले पार्टी केन्द्रले दिएको निर्देशन र निर्णय अनुसार प्रदेशले काम गर्ने बताए । 
