विराटनगर । खेलकुद विकास बोर्ड कोशीको सदस्य सचिव बन्न एमालेका नेता तथा कार्यकर्ताहरूमा दौड धूप सुरु भएको छ । 
कोशी प्रदेश सरकारले खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेलाई बरखास्त गरेसँगै एमाले भित्र सदस्य सचिव बन्न दौड सुरु भएको छ । 
प्रदेश सरकारले वाग्लेलाई बरखास्त गरे पनि उच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ । अल्पकालीन आदेशसँगै छलफलका लागि अदालतले बिहीबार छलफलका लागि बोलाएको छ । 
उच्च अदालत विराटनगरले खेलकुद विकास बोर्ड कोशीका सदस्य सचिव हंसराज वाग्लेलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । कोशी प्रदेश सरकारको बुधवार बसेको मन्त्रीपरिषद् बैठकले वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णय विरुद्ध वाग्लेले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए ।
उच्च अदालतका न्यायधिस कमलकृष्ण अधिकारीको इजलासले प्रदेश सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । यसअघि वाग्लेलाई हटाउने तयारी गरेको सामाजिक विकास मन्त्रालयले दुई पटक स्पष्टीकरण सोधेको थियो ।
वैशाख १४ गतेदेखि १६ गतेसम्म झापाको दमकमा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने क्रममा ब्यानरमा आयोजकको रूपमा कोशी प्रदेशको नाम उल्लेख नभएको भन्दै मन्त्रालयले वैशाख १७ गते पहिलो र २९ गते दोस्रो पटक उनीसँग स्पष्टीकरण मागेको थियो । 
दुवै स्पष्टीकरणको जवाफ समेत चित्त बुझ्दो नभएको जनाउँदै सामाजिक विकास मन्त्री बुद्धिकुमार राज भण्डारीको प्रस्तावमा मन्त्री परिषद् बैठकले वाग्लेलाई पदमुक्त गरेको थियो ।
अदालतको फैसला नआए पनि सदस्य सचिव बन्न भद्रपुर नगरपालिकाका पूर्व मेयर जीवन श्रेष्ठ एमाले मोरङका उप सचिव सन्तोष बान्तवा सदस्य सचिव बन्ने दौडमा छन् । यस्तै  भद्रपुर पूर्व मेयर एमाले सोलुखुम्बुका डीबी रण पहेली खोटाङका  प्रभात विक्रम कट्टुवाल समेत सदस्य सचिव बन्ने दौडमा छन् । उनी युवा सङ्घका नेता तथा एमाले उपाध्यक्ष ईश्वर पोख्रेल मन्त्री हुँदा  सचिवालयमा बसिसकेका व्यक्ती हुन् । यस्तै प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव हुन उदयपुरका शम्भु पौडेल पनि सदस्य सचिव बन्ने दौडमा छन् । उनी यस अघि प्रदेश खेलकुद विकास बोर्डको सदस्य थिए ।