विराटनगर। पर्यटकीय भिसामा नेपाल आएर नियम विपरीत धर्म प्रचार तथा धर्म परिवर्तन गराउने कार्यमा संलग्न २४ जना दक्षिण कोरियाली नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई राती नै अध्यागमन विभाग पठाइएको प्रहरीले जनाएको छ। 
मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मालती मार्गमा रहेको ‘नेपाल न्यु कोनेन्ट कलेज’ (एनएनसिसी)मा आयोजित दीक्षान्त समारोह तथा धार्मिक कार्यक्रममा सहभागी भई उनीहरूले धार्मिक क्रियाकलाप र धर्म प्रचार गरिरहेको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले पक्राउ गरेको हो।   
पर्यटकीय भिसामा नेपाल प्रवेश गरेर धार्मिक शिक्षा, तालिम र धर्म प्रचार जस्ता गैर कानुनी कार्यमा संलग्न पाइएपछि अध्यागमन नियमावली, २०५१ को नियम २० को उपनियम २ तथा विदेशी नागरिक अनुगमन निर्देशिका, २०७५ बमोजिम उनीहरूलाई कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ। मोरङ प्रहरीका अनुसार, नियन्त्रणमा लिइएका १२ पुरुष र १२ महिला गरी २४ जना कोरियाली नागरिकलाई काठमाडौँस्थित अध्यागमन विभागमा पठाइसकिएको छ।
पछिल्लो समय पर्यटक तथा भिजिट भिसामा नेपाल आएर उद्देश्य विपरीत धर्म प्रचार, गैर कानुनी व्यापार–व्यवसाय र अन्य गतिविधि गर्ने विदेशी नागरिकहरूको क्रम बढेपछि सुरक्षा निकायले निगरानी र चेकजाँचमा व्यापक कडाइ गरेको जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख एसपी कवित कटुवालले जानकारी दिए।  उनका अनुसार, सीमा क्षेत्रमा हुन सक्ने घुसपैठ, रोहिंग्या तथा उद्देश्य विपरीत बसोबास गरिरहेका विदेशीहरूको तथ्याङ्क सङ्कलन (डेटाबेस) तयार गरी सूक्ष्म निगरानी सुरु गरिएको छ।   यसअघि पनि काठमाडौँमा व्यापार गर्ने भनेर बिजनेस भिसा लिई विराटनगरमा नेपाली नागरिकको नाममा गैर कानुनी रूपमा व्यवसाय सञ्चालन गर्दै आएका दुई जना चिनियाँ नागरिकहरूलाई समेत नियन्त्रणमा लिएर कारबाहीका लागि अध्यागमन पठाइएको थियो ।
यी हुन् पक्राउ परेका कोरियन नागरिक
१. ब्याक याङ्गेलिन (पुरुष)
२. च्याङ जे हान (पुरुष)
३. चो ह्येसोङ (पुरुष)
४. चोई सुङसिक (पुरुष)
५. ज्याङ याङ जा (महिला)
६. काङ युन्जे (पुरुष)
७. किम ए री (महिला)
८. किम म्योङही (महिला)
९. ली छङ उ (पुरुष)
१०. ली जे र्योङ (पुरुष)
११. ली मि योङ (महिला)
१२. ली सुनयोङ (महिला)
१३. पार्क जुवोङ (पुरुष)
१४. सोङ इन्सुक (महिला)
१५. युन इनहो (पुरुष)
१६. युन इन सुक (पुरुष)
१७. हाजिन (महिला)
१८. जुङ (महिला)
१९. काङ (महिला)
२०. किम जेओके (महिला)
२१. किम सुङ छुल (पुरुष)
२२. लिम वुङ सुन (महिला)
२३. पार्क गुई ह्वान (पुरुष)
२४. सोहन युन ताक (पुरुष)