विराटनगर । विराटनगरका पत्रकार सुशीला पाठकमाथि सशस्त्र प्रहरीले दुर्व्यवहार गरेको छ। नेपाल पत्रकार महासङ्घ कोसी प्रदेश कार्यसमिति सदस्य तथा कान्तिपुर टेलिभिजनका विराटनगर संवाददाता पाठकलाई नेपाल भारत सीमा क्षेत्र रानीमा रिपोर्टिङ गर्न जाने क्रममा दुर्व्यवहार गरेको हो । सीमा क्षेत्रमा भइरहेको तस्करीको रिपोर्टिङ गरिरहेको अवस्थामा सशस्त्र सीमा सुरक्षा बल रानीमा खटिएका प्रहरी अधिकृत सहित सशस्त्र प्रहरी जवानले उनीमाथि दुर्ब्यवहार गरेको पाठकले बताइन् । ‘आम सर्वसाधारणलाई दुख दिई रहेको तर ठुला गाडीहरू चेकजाँच नगरी पठाएको देखेपछि भिडियो खिचेको थिएँ, पाठकले भनिन्, एक जना महिला प्रहरीलाई लगाएर मेरो मोबाइल खोसियो, त्यो मोबाइल उनीहरूले गायब बनाए ।’ सार्वजनिक स्थलमा रिपोर्टिङका क्रममा भएको यस घटनालाई लिएर नेपाल पत्रकार महासङ्घ मोरङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासङ्घले एक प्रेस विज्ञप्ति जारी गर्दै आज बिहान ११ बजे विराटनगरको रानी क्षेत्रमा रिपोर्टिङका क्रममा पाठकको सञ्चार उपकरण खोसिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । ‘आफू पत्रकार भएको जानकारी गराउँदा पनि सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीले बिहान ११ बजे खोसेको सञ्चार उपकरण हालसम्म पनि फिर्ता गरेको छैन, विज्ञप्तिमा भनिएको छ, यस घटनाको घोर भर्त्सना गर्दै खोसिएको सञ्चार सामाग्री सार्वजनिक रूपमा माफी माग्दै फिर्ता गर्न माग गर्दछौँ ।’ सञ्चारकर्मीलाई दुर्व्यवहार गर्ने सशस्त्र प्रहरीलाई तत्काल कारबाहीको दायरामा ल्याउन सम्बन्धित सरोकारवालासँग महासङ्घले माग गरेको छ । 

पछिल्लो समय सीमा क्षेत्रमा तस्करी मौलाएको भन्दै सीमा क्षेत्रमा रहेको सुरक्षा निकायका अधिकारीहरूको आलोचना हुँदै आएको छ। सानालाई तर्साएर ठुलालाई उम्काउने काम गरेको आरोप सुरक्षा निकायलाई लाग्दै आएको छ।