सुनसरी । नेपाली सेनाको पूर्बी पृतना हेडक्वाटर इटहरीले मनसुन सक्रिय हनै लाग्दा सम्भावित बिपतबाट हुने क्षती न्युनिकरणका लागि पूर्व तयारी सुरु गरेको छ । कोशी प्रदेशका तराईका जिल्लामा बाढी तथा डुबान र पहाडी तथा हिमाली जिल्लामा पहिरोको जोखिम रहेकाले पूर्व तयारी गरिएको सोमबार एक कार्यक्रमको आयोजना गरी पूर्बी पृतना हेडक्वाटर इटहरीका पृतनापति आशबहादुर तामाङले जानकारी दिए । बिगतमा कोशी प्रदेशमा रहेको बिभिन्न क्षेत्रमा मनसुनी बर्षाको कारण बाढी, पहिरो लगायत पानीजन्य विपद्बाट ठुलो धनजनको क्षती हुने गरेको भन्दै सबै मिलेर पहिल्यै तयारी गर्दा क्षती न्यूनिकरण गर्न सकिने भएकाले पूर्व तयारी अभ्यास समेत गरिएको पृतनापति तामाङको भनाई छ । उनका अनुसार कोशी प्रदेशका संखुवासभा, भोजपुर, धनकुटा, ईलाम, उदयपुर, खोटाङ, ओखलढुंगा, पांचथर, ताप्लेजुङ, सोलुखुम्बु र तेह्रथुम जिल्लाहरु पहिरोको जोखिममा रहेका छन् । सुनसरी, मोरङ, उदयपुर र झापा जिल्लाहरु बाढी तथा डुवानको जोखिममा रहेका छन् । उक्त जोखिम प्रतिकार्य कार्यमा नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरु आवश्यक न्यूनतम सामग्री सहित तयारी अवस्थामा रहेको जनाइएको छ ।
नेपाली सेनाले विभिन्न स्थानिय तह, प्रदेश, र केन्द्रसंग आपत्कालिन कार्य सञ्चालन केन्द्र राख्ने, प्रदेश/जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्ने, समन्वय तथा बन्दोबस्ती कार्यहरूमा समेत सहयोगी भूमिका निर्वाह गरिरहेको जनाएको छ । यसका लागि पूर्बी पृतनाले राष्ट्रिय विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्य अनुरुप सरोकारवालाहरुको सहभागितामा विभिन्न तहमा एकिकृत अभ्यासहरु सञ्चालन गर्दै आईरहेको जनाएको छ । पूर्बी पृतनाले जेठ १३ देखि २० गतेसम्म कोशी प्रदेश अन्तर्गत १४ वटै जिल्लामा जिल्ला स्तरिय विपद् व्यवस्थापन “अभ्यास मनसुन ३“ संचालन गरेको जनाएको छ । जेठ १६ गते सुनसरीको चतरामा प्रदेश स्तरीय विपद् व्यवस्थापन “अभ्यास मनसुन -३” संचालन भई सकेको र आगामी मनसुनको समयमा आउन सक्ने संभावित बाढी र पहिरोको परिदृश्यमा केन्द्रिय तहको “अभ्यास हातेमालो-५“ जेष्ठ महिनाको पहिलो साता जंगी अड्डामा सम्पन्न भएको जनाएको छ । पूर्वी पृतना हेडक्वाटरले प्रदेश सरकारसँगको सहकार्यमा जेठ २८ र २९ गते कोशी प्रदेशस्तरिय “अभ्यास हातेमालो- ५” संचालन गरेको पृतनापति तामाङले बताए ।
पूर्व तयारी अभ्यासपछी सहभागीहरुले मनसुन पुर्व तयारी तथा प्रतिकार्य कार्य योजना कार्यान्वयनमा स्पष्टता, प्रदेश जिल्ला र स्थानिय तहको भूमिका र जिम्मेवारीको बारेमा जानकारी, विपद् प्रतिकार्य र मानविय सहयोगको अवस्थामा सरकारी र गैरसरकारी संघ संस्थाहरुसंग विभिन्न तहमा गर्नुपर्ने समन्वय र सहकार्यको संयन्त्रबारेमा ज्ञान हासिल भएको बताइएको छ । यस्तै विपद् पूर्वको तयारी र योजना तथा विपद्को दौरान र पश्चात विभिन्न तहमा गर्नुपर्ने कार्य योजना, कार्यान्वयन बारे ज्ञान तथा अभ्यास प्राप्त भएको सहभागीहरुको भनाइ छ । प्रदेश, जिल्ला र स्थानिय तहमा विपद् प्रतिकार्यको लागि आवश्यक तयारी तथा योजना गरी विभिन्न तहमा हुनसक्ने समस्या चुनौती बारे जानकारी भई तिनको समाधनको उपायहरु प्हिचान गरिएको बताइएको छ । यस्तै विपद्को दौरान र विपद् पश्चात जनशक्ति तथा साधनको परिचालन सम्बन्धी सम्बन्धित सबैको कर्तव्य र जिम्मेवारी सम्बन्धी ज्ञान प्राप्त भएको कार्यक्रममा जानकारी गराइएको छ ।