विराटनगर । नेपालमा दुर्लभ मानिएको जनावर हाइना मोरङको रङ्गेली नगरपालिकामा देखिएको छ । भारतसँग सिमा जोडिएको रंगेली नगरपालिकाको वडा नम्बर ४ को धनपति क्षेत्रमा हाइना देखिएको हो । स्थानियका अनुसार हाइनाको बथान नै देखिएको छन् ।
विगत एक सातादेखि हाइनाको बथान देखिएपछि स्थानीयहरु त्रसित छन् । रङ्गेली नगरपालिका वडा नम्बर ५ का अध्यक्ष महानन्द मण्डलले हाइनाको बथान देखिएको बताए ।
स्थानीयले कहिले एउटा दुइटा हाइना देख्दै आएकोमा आज राती भने ठुलो सङ्ख्यामा हाइनको बथान देखिएको मण्डलले बताए ।
उनले भने भारत तर्फ केही अगाडि हाइना देखिएको हल्ला चल्दै आएको थियो । नेपालतर्फ भने यो देखिएको थिएन ।’रङ्गेलीसँग सिमाना जोडिएको भारतीय क्षेत्र लेटीमा पहिला पनि हाइना देखिएको थियो ।
हाइना देखिएको स्थान जङ्गल क्षेत्र होइन । बाँसघारी र खेतमा नै हाइना देखिएको मण्डलले बताए ।
कोशी टप्पु वन्य जन्तु आरक्षका संरक्षण अधिकृत भूपेन्द्र यादवले नेपालमा हाइनाका केही प्रजाति देखिने गरेको भए पनि मोरङमा कहाँ र कसरी आइपुग्यो भनेर चाहिँ अध्ययन गर्न बाँकी रहेको बताए ।
उनले भने,‘ यो क्षेत्रमा हाइना देखिएको थिएन । यहाँ कहाँबाट आयो भन्ने चाहिँ खोजिको बिषय हो । ’उनले भारत तर्फबाट हाइना नेपाल प्रवेश गरेको हुन सक्ने अनुमान लगाए ।
अमेरिकाको विस्कन्सिन म्याडिसन विश्वविद्यालयबाट बाघबारे अध्ययन गर्न आएकी सामन्था हेलेले दाङ र बाँकेको राप्ती नदीको किनारमा हाइना भेटिएको उल्लेख गरेकी थिइन् । उनी बाघको बारेमा अध्ययन गर्न नेपालमा आएकी थिइन् ।
सन् २०११ मा गरिएको अध्ययन अनुसार नेपालका २५ जिल्लामा हाइना पाइने देखाएको छ। तर त्यसपछि कुनै अध्ययन नभएकाले हाल कुन–कुन जिल्लामा हाइना अवस्था कस्तो छ रु भन्ने अध्ययन हुन नसकेको प्रदेश पर्यटन बन मन्त्रालयले जनाएको छ ।
उक्त अध्ययनमा नेपालमा हाइना समुन्द्र सतहदेखि १७५० मिटरको उचाइमा रेकर्ड भएको छ। हाइना लोप उन्मुख जनावरको सूचीमा रहेको र एक सयको हाराहारीमा यो जनावर रहेको एक अध्ययनले देखाएको छ ।
हाइना झलक्क हेर्दा कुकुरजस्तो देखिन्छ तर हाइनाको टाउको अग्लो र पुच्छरतिरको भाग क्रमशः होचो हुन्छ। यसलाई कुकुर र बिरालोका परिवारभन्दा बेग्लै ‘हाइनिडी’ परिवारमा राखिएको छ। यसका अगाडिका खुट्टा पछाडिका तुलनामा अग्ला र बलिया हुन्छन्। हाइना मांसाहारी जनावर हो। हाइना समूहमा बस्छन् र धेरै बुद्धिमान मानिन्छन्। हाइनाले जनावरको सामूहिक सिकार गर्ने गर्छन् ।

















