विराटनगर । मदन भण्डारीको जन्मजयन्तीको अवसरमा देशभर खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल खेलकुद महासंघ (नेकोस)ले मदन भण्डारीको जन्मजयन्तीको अवसरमा साप्ताहिक खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो । महासंघ केन्द्रीय समितिको बैठकले मदन भण्डारीको जन्मजयन्तीको अवसरमा सातदिनसम्म खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको हो । मदन भण्डारीको सम्झनामा हुन लागेको साप्ताहिक देशब्यापी खेलकुद प्रतियोगितामा विभिन्न खेलहरु खेलाईने आयोजक नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेतले जानकारी दिए ।
अहिले प्रचलनमा रहेको सानादेखि राष्ट्रिय स्तरको सबै खालका खेलकुद प्रतियोगिता हुने बस्नेतले बताए । भलिबल, फुटबल, ब्याडमिन्टन, दौड, डोरीतान, वत्तृत्वकला, बास्केटबल, कबड्डी लगायतका सबैखाले खेलकुद आयोजना गर्ने निर्णय भएको बस्नेतले बताए । प्रतिनिधिसभा, राष्ट्रियसभा, संविधानसभा सदस्यहरू, वर्तमान र पूर्वसदस्यहरूको बीचमा ब्याडमिन्टन खेल प्रतिस्पर्धा हुने समेत जनाईएको छ।
आगामी असार १४ गते मदन भण्डारीको जन्ज्मजयन्ती मनाईँदै छ । मदन भण्डारीको जन्म बि.सं.२००९ साल १४ असारमा ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । जनताको बहुदलीय जनवादले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई संस्थागतगरि प्राथमिकतामा राखेको छ । तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३ जेठ २०५० मा दासढुंगामा निधन भएको थियो । जीप दुर्घटनामा परी निधन भएको भन्दा पनि धेरैले हत्या भएको बताउँदै आइरहेका छन् । उक्त घटनालाई लिएर विभिन्न टिकाटिप्पणी भए पनि हालसम्म ठोस निष्कर्ष भने निस्कन सकेको छैन ।
जन्मजयन्तीकै अवसरमा कोशी र बागमती प्रदेशमा बौद्धिक बहसको समेत आयोजना गर्ने तयारी महासंघको छ। हामी मदन भण्डारीको जन्मजयन्तीलाई रचनात्मक बनाउँदैछौँ, उनले भने, बौद्धिक बहससँगै मदनको योगदानको चर्चा हुनेछ । बौद्धिक बहसले पार्टीको मार्गदर्शक सिद्धान्तको रूपमा रहेको जनताको बहुदलीय जनवादलाई नेतादेखि कार्यकर्तासम्म बहस गर्दै प्रशिक्षणको माध्यामबाट अघि बढ्ने तयारी रहेको बस्नेतले जानकारी दिए । मदन भण्डारीको जन्मजयन्तीलाई भब्य बनाउँदै जनताको जनवादमाथिको विचार प्रवाहलाई कार्यकर्तासम्म बलियो बनाउने अवसरको रुपमा लिनु पर्ने उनले बताए । भण्डारीले २०४८ सालको महाधिवेशनमा पेस गरेको जबजको सिद्धान्तलाई तत्कालीन नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रूपमा लागू गर्दै आएको छ ।
असार १२ र १३ गते कोशी प्रदेश १४, १५ बागमती प्रदेशमा विभिन्न ८ वटा विषयमा मदनलाई स्मरण गर्ने र नेताकार्यकर्ताहरू प्रशिक्षण गर्ने बस्नेतले जानकारी दिए । भण्डारीको जन्मजयन्तीको अवसरमा भण्डारीका संकलित रचनाहरू, छानिएका रचनाहरू, सेलेक्टेड वर्क्स, तथा जीवनी र व्यक्तित्व जस्ता कृतिहरूको समेत चर्चा र वितरण गर्ने महासंघको तयारी छ । साप्ताहिक कार्यक्रममा सरसफाई, सामाजिक तथा स्वयंसेवी कार्यक्रम लगायत रचनात्मक कार्य गर्ने तयारी रहेको बस्नेतले बताए ।