विराटनगर । महिलाहरूको आत्मरक्षाका लागि विराटनगरमा दुई दिने महिला सेल्फ डिफेन्स तालिम सम्पन्न भएको छ ।
कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको दुई दिने महिला सेल्फ डिफेन्स तालिम शुक्रबार र शनिबार विराटनगरमा भएको थियो । पछिल्लो समय महिलाहरू असुरक्षित बन्दै गएको र उनीहरूको आत्मबल बढाउने उद्देश्य तालिमको आयोजना गरिएको बताइएको छ ।
महिलाहरू घरेलु हिंसा, साथीभाइबाट हुने हिंसा, सहकर्मीबाट हुने हिंसा, शिक्षक वा गुरुबाट हुने हिंसा, पारिवारिक हिंसालगायत अन्य विभिन्न किसिमबाट हुने हिंसाको पहिचान, कसरी आफूलाई बचाउ गने बारेमा प्रशिक्षण दिइएको थियो । आफू हिंसामा परे कसरी आफूलाई आत्मरक्षा गराउने विषयमा प्रशिक्षण दिँदै प्रयोगात्मक अभ्याससमेत गराइएको थियो ।
आत्मरक्षा तालिममा सुनसरी र मोरङका निजी तथा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो । कक्षा ९ र १० मा अध्ययनरत १ सय ५० भन्दा बढी छात्राहरूले भाग लिएका थिए । काठमाडौँ र प्रदेशका ५ जना प्रशिक्षकहरूले उनीहरूलाई प्रशिक्षण दिएका थिए ।