विराटनगर । कोशी प्रदेश सरकारको बरखास्तको माग राख्दै सवोच्चमा परेको रिट निवेदनेका विषयमा सुनुवाइ सुरु भएको छ । प्रदेश प्रमुख परशुराम खापुंगले कोशी प्रदेशकोमुख्यमन्त्रीमा नेपाली काँग्रेसका उद्धव थापाको नियुक्तिको विषयमा नेकपा एमालेले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतमा न्यायाधीश सपना मल्लको इजलासमा सुनुवाइ सुरु भएको हो ।

लगातार तीन दिन पेसी तोकिएर पनि हेर्न नभ्याइनेमा राखिएको मुद्दा आज मल्लको इजलासको १८ औँ नम्बरमा रहेको थियो ।

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका उद्धव थापाको नियुक्तिको विषयमा नेकपा एमालेले दायर गरेको रिटमाथि आइतबार न्यायाधीश डा। आनन्द मोहन भट्टराई, सोमबार सुष्मालता माथेमा र मङ्गलवार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको मुद्दा हेर्न नभ्याइनेमा राखिएको थियो ।

कोशी प्रदेश नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले असंवैधानिक तरिकाले प्रदेशमा मुख्यमन्त्री नियुक्त गरेकाले त्यसलाई बदर गरी संविधानको धारा १६८ को उपधारा ३ अनुसार आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश माग गरेका छन् ।

एमालेले नेपाली काँग्रेस कोशी संसदीय दलका नेता उद्धव थापाले सभामुखसमेतलाई जोडेर दाबी पेस गर्दा मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख बाबुराम गौतम र नवनियुक्त मुख्यमन्त्री उद्धव थापालाई विपक्षी बनाएर रिट दायर गरेको छ ।

एमालेको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, डा। भीमार्जुन आचार्य, चन्द्रकान्त ज्ञवाली, डा। सूर्य भण्डारी, टिकाराम भट्टराई, केदार दाहाललगायतका वरिष्ठ अधिवक्ताले बहस गर्ने भएका छन् ।