इटहरी ।  अविरल वर्षासँगै  सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको सिसुवाधरमपुर प्रहरी चौकी डुबानमा परेको छ । सुनसरी खोलामा आएको बाढी पसेर शुक्रवार बिहान चौकी डुबान हुँदा त्यहाँ कार्यरत प्रहरी विस्थापित भएका छन् । 

भोक्राह नरसिंह गाउँपालिका–८ मा रहेको सिसुवाधरमपुर चौकीमा असई  रमेश परियारको नेतृत्वमा ६ जना प्रहरी परिचालित थिए ।  सुनसरी प्रहरीका प्रवक्ता डिएसपी राजकुमार राईले खोलामा आएको बाढी पसेर डुबान भएपछि प्रहरीले चौकी छाड्नु परेको जानकारी दिए । उनका अनुसार सुनसरी खोलाको बाढी पस्दा प्रहरी चौकीको ‘कम्पाउन्ड’भित्र ४ फिटसम्म पानी जमेको छ ।

सबै प्रहरीले हातहतियार, सञ्चार सामग्री तथा बन्दोबस्तका सामानसहित बिहान ५ः५० बजेतिर चौकी छाडेका हुन् । अविरल बर्ष पछिको बाढीका कारण मोरङ र सुनसरीका दर्जनौँ स्थान डुबानमा परेका छन् । मोरङको जहदा गाउँपालिका–३ स्थित भाथीगन्जमा बाढीले घर बगाएपछि ३ परिवार विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढीले घर–टहरा भत्काउँदा खोला किनारमा बसोबास गर्दै आएकाहरू विस्थापित भएका हुन् ।

सार्वजनिक जग्गामा घर बनाएर बसेका अर्जुन मुखिया, सुरज मुखिया र विष्णुदेव मुखियाको घर बाढीले बगाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । मोरङका बूढी, सिंघिया, लोहन्द्रा, बक्राहा लगायतका खोलामा बाढी आएको प्रहरीले जनाएको छ ।सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंंगानाले जिल्लाको दक्षिण, पश्चिम र उत्तरी क्षेत्रमा डुबानको समस्या निम्तिएको बताए ।