विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालको क्षेत्राधिकारमा रहेको संरचनाको भाडा मनपरी उठाउने गरेको पाइएको छ। सरकारी संस्थाको रकम विभिन्न संस्थाहरूले अपचलन गरेको पाइएको हो । कोशी अस्पतालको सहमति बेगर अनधिकृत रूपमा प्रयोगमा ल्याइएको जग्गामा खाली गर्न कोशी अस्पताल प्रशासनले पटक पटक पत्राचार गरेको भए पनि राजनीति संरक्षणको आडमा ती जग्गा खाली गराउन सकेको छैन ।
वैशाख ६ गते कोशी अस्पतालको सम्झौता बेगर संरचना भाडामा लगाएको बारेमा ती सबै अस्पतालको स्वामित्वमा रहेको जग्गा खाली गर्ने पत्राचार गरेको भए पनि अहिलेसम्म हट्न सकेको छैन । गणेश मन्दिर, क्षयरोग निवारण केन्द्र, देवकोटा पुस्तकालय र रेडक्रसको नाममा अस्पतालको संरचनाको रकम उठाएर अनधिकृत रूपमा भोग चलन गर्दै आएको अस्पताल प्रशासनले जनाउँदै आएको छ। नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्र स्थापनाको लागि संरचना उपभोग गर्दै आएकोमा त्यही भवनमा रेडक्रसले राष्ट्रिय वाणिज्य बैङ्कबाट मासिक ८० हजार भन्दा बढी भाडा असुल्दै आएको छ। अनधिकृत रूपमा संस्थालाई देखाएर ती अस्पतालको सटरको भाडामा सङ्घ संस्था ठेकेदार बनेका छन् । तिनै संस्थाले मनपरी रकम असुली गर्दै आएका छन् । गणेश मन्दिरको नाममा ५ वटा सटरको भाडा लाखौँ रुपैयाँ रकम मासिक कसले उठाउँछ त्यसको आम्दानी कोशी अस्पतालले उपभोग गर्न पाएको छैन ।
गणेश मन्दिरले बालबालिका क्लिनिकसँग मासिक ७० हजार असुल्दै आएको छ । मन्दिर समितिले गणपति पत्रपत्रिका पसल, उज्वल फर्मा, कलस फर्मा, किसान जनरल स्टोर र श्रुति फार्मेसीबाट सटर भाडाको रकम असुलेको अस्पताल प्रशासनको दाबी छ । एउटा सटरको भाडाको मूल्य न्यूनतम २६ हजार २५० देखि ५२ हजार र अधिकतम ७० हजारसम्म उठाउँदै आएको पाइएको छ ।
क्षयरोग निवारण केन्द्रले ८ वटा सटरको भाडा उठाएर आफैँले चलाउँदै आएको छ। क्षयरोग निवारण केन्द्रको अध्यक्ष विराटनगरका व्यवसायी शिव प्रधान हुन् । क्षयरोग निवारण केन्द्र मार्फत श्रेष्ठ खाजा घरबाट ५० हजार, मदिना होटेल खाजा घरबाट ४४ हजार, पशुपति किराना पसलबाट २० हजार, खुुश्वु खाजा घरबाट १५ हजार, सहिम मोटरसाइकल रिपेयरिङ सेन्टरबाट ९ हजार, मोनिका फार्मेसीबाट ५ हजार र न्यु बाबा होटेलबाट मासिक १२ हजारका दरले भाडा असुल्दै आएको छ। कोशी अस्पताल मातहतमा रहेको क्षयरोग निवारण केन्द्रले समेत मासिक लाखौँ रकम सरकारी आम्दानी नोक्सान गरेको छ ।

त्यस्तै रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रको भवनमा राष्ट्रिय वाणिज्य बैङ्क, मिना मेडिकल हल, कोशी फोटो स्टुडियो, न्यू त्रिवेणी फोटो स्टुडियो, तरकारी पसल र किराना पसलहरू संञ्चालको लागि कोशी अस्पतालको सम्पत्ति भाडामा लगाएर लाखौँ असुली गर्दै आएका छ । 
तत्कालीन अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराईको पालामा यी सटर र सम्बन्धित संस्थालाई हटाउने प्रयास हुँदै आएको भए पनि त्यो सफल नभएको उनले बताए । हामीले पत्राचार गरेर अस्पतालको सम्पत्ति स्वामित्वमा ल्याएर आन्तरिक आम्दानी वृद्धि गर्न लागिएको भए पनि त्यो राजनीतिक दबाबको कारण सफल नभए पनि अहिले बिस्तारै प्रक्रियामा ल्याउने काम भइरहेको भट्टराईले बताए ।


कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चन्द्र भाल झाले अदालतको फैसला अनुसार अघि बढ्ने तयारी रहेको बताए । अदालतले हाम्रो पक्षमा फैसला गरेको छ, यसअघिको समितिले ती विभिन्न सङ्घ संस्थाले उठाउँदै आएको भाडालाई अस्पतालले आफ्नो स्वामित्वमा ल्याउने अन्तिम प्रयास गरेको झाले बताए ।