विराटनगर । कोशी प्रदेशमा सरकार गठनका लागि स्पष्ट बहुमत पुग्न समस्या भएपछि माओवादीको एउटा समूहले सर्वदयि सरकार गठनको प्रयास थालेको छ ।
कोशीका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत दाबी गर्ने तयारीमा रहेका सत्ता गठबन्धनलाई माओवादीकै एउटा समूहले अवरोध गर्न थालेको छ ।
माओवादी नेता वर्षमान पुनले सर्वदलीय सरकार गठन नभएसम्म कोशीमा मध्यावधि नटर्ने भन्दै सर्वदलीय सरकार बनाउन कालागि नेतृत्व लिँदै छलफल सुरु गरेका हुन् ।
सभामुखले राजीनामा दिएर सत्ता गठबन्धनको सरकार बने पनि यो दिगो हुँदैन, वर्षमान श्रोतले भन्यो, कोशी प्रदेशको स्थायित्वका लागि सर्वदलीय सरकार आवश्यक छ । उनले बामपन्थीहरुको सरकार गठन गर्नु पर्नेमा समेत जोड दिन थालेका छन् ।
वामपन्थीको नेतृत्वमा कोशीमा प्रदेश सरकार गठन गर्नु पर्ने भन्दै उनले अध्यक्ष प्रचण्डलाई समेत भन्दै आएका छन् ।
यस अघि २०७९को निर्वाचन पछि एमाले माओवादीको गठबन्धनमा सरकार बन्नुमा पनि पुनको महत्त्वपूर्ण भूमिका रहेको चर्चा चल्ने गरेको छ ।
उनकै पहलमा निर्वाचनमा गठबन्धन गरेका काँग्रेस लगायतका दललाई धोका दिँदै एमालेको समर्थनमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका थिए ।
एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले समेत सर्वदलीय सरकारको कुरा उठाउँदै आएका छन् ।
उनले असार १४ गतेको कोशी प्रदेश सभाको बैठकमा सर्वदलीय सरकारका लागि आव्हान गरेका थिए । उनले भने, म सर्वदलीय सरकारको पक्षमा छु । प्रदेशको स्थायित्वका लागि सर्वदलीय सरकार पहिलो विकल्प हो ।
माओवादी भित्र प्रचण्डलाई नेता मानेपछि वर्षमान र जनार्दन शर्माका बिचको लाइन देशै भर छ । वर्षमान लाइनका नेताहरूले भने बाबुरामलाई सभामुखबाट राजीनामा गराउन नहुने अडानमा छन् ।
कोशी प्रदेश सभामा वर्षमान गुटका प्रदेश सभा सदस्यहरूको बहुमत थियो । उनी निकटका राजेन्द्र कार्कीले मन्त्री बन्न गुट परिवर्तन गरेपछि उनको गुट कोशी प्रदेश सभामा बराबरीको अवस्थामा पुगेका छ । प्रदेश सभाका सभामुख समेत पुन निकट मानिन्छन् ।
वर्षमानसँग नजिकको श्रोतले भन्यो, सभामुखले राजीनामा दिएर सरकार गठन त हुन्छ तर एक महिना पछि पुन ढल्छ । एक महिनामा ढल्ने सरकार बनाएर प्रदेश प्रतिको विश्वास झन् घट्ने भएकाले सर्वदलीय सरकार अहिलेको आवश्यकता हो ।
वर्षमानका स्वकीय समेत भइसकेका प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री दुर्गाप्रसाद चापागाईँले केही दिन अघि नै सामाजिक सञ्जालमा सर्वदलीय सरकारको विकल्प नभएको बताएका थिए ।
उनले सभामुखलाई राजीनामा गराएर सरकार बनाँउर्दैमा समस्याको निकास ननिस्कने बताउँदै आएका छन् । उनले भने, अहिले नै समस्याको समाधान निस्कने देख्दिन ।