सुनसरी । डेंगीको महामारी फैलिएको सुनसरीको धरानमा बिरामीहरूको लागि उपमहानगरपालिकाले निःशुल्क डेंगी परीक्षण शिविर सुरु गरेको छ ।
धरान ८ स्थित सभागृहमा उपमहानगरपालिकाले डेंगीको आशङ्का भएका बिरामीहरूको लागि सोमबारदेखि निःशुल्क परीक्षणको व्यवस्था गरेको हो ।
डेंगुको महामारी तीव्र रूपमा फैलिएकाले बिरामीलाई सहज होस भन्ने उदेश्वले शिविर सुरु गरिएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।
डेंगीले धरान अस्तव्यस्त भए पनि स्थानीय सरकार गम्भीरतापूर्वक नियन्त्रणमा नलागेको र बिरामीहरूलाई राहत दिने गरी कार्य नगरेको भन्दै चर्को आलोचना भएको बेला उपमहानगरले निःशुल्क परीक्षणको व्यवस्था गरेको हो ।
शिविरमा ज्वरो आएका बिरामीहरूलाई किटद्वारा डेंगु सङ्क्रमण भएको हो कि होइन भनेर परीक्षण गरिने व्यवस्था मिलाइएको छ ।
डेंगीको महामारी फैलिएको धरानमा अहिलेसम्म २ हजार ४ सय २४ जनामा सङ्क्रमण पुष्टि भैसकेको छ ।
४ हजार ८६ जनामा परीक्षण गर्दा ५९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको र ८ जनाको मृत्यु भएको धरान उपमहानगरपालिका स्वास्थ्य महासखाले जनाएको छ ।