इटहरी । साउन २० गते हुने जनता बहुमुखी क्याम्पस व्यवस्थापन समितिको निर्वाचनमा सदस्य पठाउने गठबन्धन गरेका राजनीतिक दलहरूले सहमति सुनाउन पत्रकार सम्मेलन आयोजना गरिएको थियो । केही पत्रकार उपस्थित थिए । करिब एक घण्टा ढिला गरी कार्यक्रम सुरु भयो । 
चिन्तन चौतारीको हलमा अगाडीको कुर्सीमा दलका नेताहरू गएर बसे । काँग्रेसका बालकृष्ण विष्ट, एमालेका याम सुब्बा,माओवादीका कवीन्द्र केसी,राप्रपाका आकाश सुब्बा,जसपाका डिल्ली सुब्बा र रास्वपाका  मणि घिमिरे । 
नेकपा एमालेका नगर सचिव रुपेश बस्नेतले कार्यक्रम सुरु गरे । दलहरूले मिलेर जाने सहमति गरेको हँसिलो मुद्रामा सुनाए । ६ वटा दलहरूले गरेको सहमतिको संयुक्त अपिल पढेर सुनाए । 
पत्रकारहरूलाई प्रश्न सोध्न आग्रह भयो । साथीहरू कोही नबोले पछि म अगाडी सरेँ, ‘सबै दलहरू मिलेर उम्मेदवार पठाउने सहमति गर्नुभएछ । दलहरूको साझा उम्मेदवार भए जस्तै साझा एजेन्डा पनि होला नि त सहमति गर्नुभएको ? के छ एजेन्डा ? त्यो पनि पाउँ न ? त्यो पत्र त आएन ? कि एकै पटक कार्यान्वयन नै गरेर देखाउने हो ?’ मैले सोधेँ । 
अगाडि कुर्सीमा बसेका दलका नेताहरू अवाक् भए, एकले अर्काको मुख हेर्दै खासखुस गर्न थाले । 
अनुहारको रङ्ग उडेका दलका नेता मध्ये पत्रकार सम्मेलनको सभापतित्व गरेका नेपाली काँग्रेसका का.वा. बालकृष्ण विष्टले गोलमटोल जवाफ दिए, ‘हामीले अपिलमै लेखेका छौँ क्याम्पसको संवागिण विकास गर्ने लेखेकै छ त ?’ 
पत्रकार राजन केडीले प्रतिप्रश्न गरे, ‘यो त तपाईँहरूको रणनीति जस्तो भयो नि ? एजेन्डा चाहिँ के हो ?के छ ?’ 
पत्रकार विकल पौडेलले थपे, ‘कुनै खास एजेन्डा होला नि ? त्यो भन्न खोजेको ? केही बनाउनुभएको होला नि एजेन्डा ?’ 
प्रतिप्रश्नमा पनि फेरी दलका नेताहरूका जवाफ आएन । अनुहार कालो मात्र भयो । 
 पत्रकारको प्रश्न सुनेर अलि पर लहरमै कुर्सीमा बसेका जसपाका नगर अध्यक्ष डिल्ली सुब्बा मुसुमुसु हाँसे । 
नेताहरू खासखुस गर्दै भन्दै थिए, एजेन्डा पनि बनाउनुपर्थ्यो । अलि याद गर्नुपर्छ नि । 
अर्का नेताले भने, अलि हतार भयो नि त दाइ । 
अगाडि कुर्सीमा बसेका दलका नेताहरूको खासखुस हेर्दा यस्तो लाग्थ्यो उहाँहरूलाई क्याम्पसका नयाँ एजेन्डाका बारेमा जानकार हुनुहुन्न । केही थाहा छैन । 
उहाँहरू त केवल दलको भागबन्डा मिलाउन आउनुभएको हो । भागबन्डा मिल्यो । पत्रकारलाई सुनाऊँ । बस हाम्रो काम सकियो । 
थाहा होस पनि कसरी यस भन्दा अगाडि क्याम्पसको विषयमा यसरी बसेर छलफल गरेको भए पो ।
 एउटा शैक्षिक संस्थाको व्यवस्थापन गर्ने नेतृत्व छान्ने दलका नेताहरूको अवस्था ।  
नेताहरूको खासखुसलाई मोड्दै कार्यक्रम सञ्चालक एमालेका सचिव रुपेश बस्नेतले नै अर्को जुक्ति निकाले, ‘अब त्यो अहिले उम्मेद्वारहरुले नै भन्नुहुन्छ ।’ 
‘यस पटक हामी सबै दलहरू मिलेर अगाडि बढ्ने निर्णय गरेका छौँ, क्याम्पसको वृद्धि र विकासका लागि नै मिलेर काम गछौँ ।’ 
सवाल जवाफकै क्रममा लहरको दक्षिण तर्फ हाफ पेन्टमा रफ बसेका राष्ट्रिय स्वतन्त्र पाटीका नगर सदस्य  हिरामणी घिमिरेलाई अर्को प्रश्न गरेँ । 
‘सबै पाटिका नगर अध्यक्षले हस्ताक्षर गरेका छन् । तपाई नगर सदस्यले हस्ताक्षर गर्नुभएको छ ? अध्यक्ष नआउनुभएको की तपाईँलाई नै अधिकार दिएको हो ?’ 
नगर सदस्य घिमिरेले भने, ‘अध्यक्ष भ्याउनुभएन मलाई नै अधिकार दिनुभएको छ ।’ 
उनी बोल्दै गर्दा थप कुरा फुत्केला भनेर काँग्रेसका बालकृष्ण विष्टले सहमतिको माईन्युट देखाउँदै भने,‘ सहमतिमा अध्यक्षले नै हस्ताक्षर गरेका छन् । उहाँहरू सुरु देखी नै हामीसँगै हुनुहुन्छ । उहाँ हामीसँगै हुनुहुन्छ ।’ 
मेरो जिज्ञासा मेटिएन, नगर सदस्य घिमिरेलाई फेरी सोधेँ, ‘रास्वपा त विद्यमान दल भन्दा फरक एजेन्डा लिएर हिँड्ने दल, आफूलाई त्यही भन्छ, तर यहाँ जनता क्याम्पसमा जान त विद्यमान दलसँगै मिल्नु भएछ नि किन ?’ 
उनको उत्तर बडो उदेक लाग्ने आयो । 
उनले भने, ‘हामी नयाँ पाटी, धेरै कुराको जानकारी छैन ? अस्ति परिषद् पनि भएछ त्यो पनि थाहा भएन, अहिले बुझ्न मात्रै जान लागेको त्यही भएर ?’ 
उनको उत्तरमा मैले प्रतिप्रश्न गरेँ, ‘जानकारी छैन भनेको जनता क्याम्पसको बारेमा जानकारी छैन भन्नुभएको, तपाई यहीँको बासिन्दा होइन र जान्नलाई ?’ 
हाफ पाइन्टमा उपस्थित नगर सदस्य घिमिरेले गोलमटोल जवाफ दिए । 
‘हो, हामी यहीँको हो तर क्याम्पसको बारेमा थाहा छैन । त्यहाँ के के व्यतिथि छ त्यो थाहा छैन । यस पटक बुझ्न जान लागेको हो त्यही भएर, हामी नयाँ पाटी धेरै थाहा छैन । नयाँ पाटीको सबै बनेको छैन नि त ।’ 
उनको नयाँ पाटीको के बनेको छैन ? क्याम्पसको के थाहा भएन ? त्यो मलाई मात्र होइन त्यहाँ भएका अरू कसैलाई पनि थाहा भएन । 
उनको कुराले मलाई र त्यहाँ भएका सबैलाई यति थाहा भयो रास्वपा पनि विद्यमान दलको बुई चढेर व्यवस्थापन समितिमा सदस्य प्रवेश गराउने दाउमा छ । उ त्यति चाहन्छ । 
सवाल जवाफ पछि सञ्चालकले उम्मेदवारलाई बोल्न पालो दिए,विकास केसीलाई ।
 विकास केसीले आफू जनता क्याम्पसको विद्यार्थी भएको, क्याम्पसको वृद्धि विकासका लागि काम गर्ने बताए । उनले विद्यार्थीहरूका लागि छात्रावासको निर्माण गर्ने एजेन्डा रहेको सुनाए । पहाडबाट पढ्न आउने विद्यार्थीको सहजताका लागि आफ्नो कार्यकालमा छात्रावास बनाएरै छाड्ने दाबी पनि गरे । 
क्याम्पसका लगातार ३ कार्यकाल बिताएकाले धेरै कुरा थाहा भएको उनको भनाई थियो । क्युएए आएको र आगामी मङ्सिर वाट बिबिएको पनि स्वीकृति आउने बताए । 
यस पटकको समितिले राम्रो काम गरेर देखाउने प्रतिबद्धता पनि जनाए ।
उनको कुरा पछि एमालेका रेवती घिमिरेले थपे जनता क्याम्पस सामुदायिक क्याम्पस हो । त्रिभुवन विश्वविद्यालयबाट आङ्गिक क्याम्पसको स्वीकृति ल्याएर दरबन्दी सृजना गर्नुपनी हाम्रो एजेन्डा हुनेछ भन्दै आफ्नो कुरा सुनाए । 
आजको पत्रकार सम्मेलनले इटहरीका दलहरू दक्ष जनशक्ति उत्पादन गर्ने एक शिक्षण संस्थाको व्यवस्थापन समिति कसरी चयन गर्दै छन् भन्ने कुरा प्रस्टै देखायो । दलका नेताहरूको अवस्था र व्यवस्था त देखियो । अब परिषद् सदस्यको चयन हेर्न बाँकी भयो ।