सुनसरी । सूर्यदेवको श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि विधिवत रूपमा सुरु भएको छ । पहिलो दिन आज ‘नहाय खाय’ मनाइँदैछ । आजको दिन ब्रतालुहरूले नदी वा पोखरीमा स्नान गरी अरवा(अर्बाइन भोजन ग्रहण गर्ने परम्परा छ ।
पारिवारिक सुख(समृद्धि र सन्तानको कल्याणको कामनासहित मनाइने यस पर्वको दोस्रो दिन भोलि (आइतबार) खरना रहेको छ । भोलि साँझ ब्रतालुहरूले चामल, सक्खर र दूधबाट खीर बनाएर प्रसादस्वरूप ग्रहण गरी खरना विधि गर्ने गरिन्छ ।
तेस्रो दिन सोमबार छठको मुख्य दिन सौझकारकका रूपमा मनाइन्छ । यस दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्रीसहित जलाशय किनारमा अर्घ्य दिने चलन छ । अन्तिम दिन मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको विधिवत् समापन हुनेछ । अन्तिम दिनलाई ‘पारन’ भनिन्छ ।
छठ पर्वमा बाँसको ढाकी, डगरी, माटोको कोसिया–कुरबार, हात्ती आदिसहितका सामग्री अर्पण गरिन्छ । त्यस्तै ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा, तरकारी, मिठाई तथा विभिन्न फलफूल प्रसादका रूपमा सूर्यदेवलाई अर्घ्य अर्पण गरिन्छ।
अर्घ्य दिने ब्रतालुले ४८ घण्टासम्म अन्न र पानी त्यागेर व्रत बस्ने परम्परा छ, त्यसैले छठलाई निष्ठा र कठोर साधनाको पर्व मानिन्छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर चढाइएको सामग्री प्रसादका रूपमा ग्रहण र वितरण गरिने भएकाले यो पर्व सामाजिक सद्भाव र एकताको प्रतीकका रूपमा पनि लिइन्छ ।
इटहरीमा छठ पर्वको तयारी पुरा

सुनसरी र मोरगंको सिमा भएर बग्ने बुुढीखोला किनारमा मनाईने छठ पर्वको तयारी पुरा भएको छ । इटहरीमा मनाइने छठ पर्वमा करिब दुई लाख भक्तजन सहभागी हुने छठ पर्व व्यवस्थापन मूल आयोजक समितिले जानकारी दिएको छ । यो बर्ष करिव ६ सय घाट व्यवस्थापन गरिने आयोजकले जानकारी दिएको छ ।
यस पटक व्यवस्थापनमा विशेष ध्यान दिइएको व्यवस्थापनका समितिका उपाध्यक्ष वासुदेव कर्णले जानकारी दिए । विगतका कमीकमजोरी सुधार गर्दै यस वर्ष अझ व्यवस्थित बनाइएको कर्णले जानकारी दिए ।
भक्तजनको सुरक्षालाई ध्यानमा राख्दै सुरक्षाकर्मीका साथै १०० जना स्वयंसेवक र ५० जना निजी सुरक्षागार्ड परिचालन गरिने आयोजकको भनाई छ । पूजास्थलमा सीसीटीभी क्यामेरा जडान गरिने आयोजकले जनाएको छ। साथै, खानेपानी, प्राथमिक उपचार र अस्थायी शौचालयको समेत व्यवस्था मिलाइएको छ।
यस बर्ष कात्तिक १० गते अस्ताउँदो सूर्य र ११ गते उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिपूर्वक सम्पन्न हुनेछ।

















