सुनसरी । इटहरीको पुरानो तथा प्रतिष्ठित क्लब राष्ट्रिय जागृति क्लबद्वारा आयोजित अन्तर नगरपालिका स्तरीय खुल्ला लोकनृत्य प्रतियोगितामा तरहराको हिमशिखर इङ्लिस स्कुल प्रथम भएको छ ।

इटहरी ९ स्थित जनता स्कुलको खेलमैदानमा क्लबद्वारा आइतबार साँझ आयोजित नगर स्तरीय खुल्ला लोक नृत्य प्रतियोगिता एवंम स्रष्टा सम्मान कार्यक्रममा इटहरीका १० वटा विद्यालयलाई पछि पार्दै हिमशिखर प्रथम भएको हो ।

यस्तै राष्ट्रिय उच्च मावि दोस्रो भएको छ भने तरहरा मोडल सेकेण्डरी स्कुलले तेस्रो स्थान हासिल गरेको छ ।
प्रथम भएको हिमशिखरले नगद २० हजार, दोस्रो भएको राष्ट्रिय उच्च माविले १५ हजार र तेस्रो स्थान हासिल गरेको तरहरा मोडलले नगद १० हजार पुरस्कार पाएको छ ।

विजयी बिद्यालयहरुलार्ई कार्यक्रमका प्रमुख अतिथि कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी, इटहरी ६ का वडाध्यक्ष दिवस पोखरेल, इटहरी ९ का वडाध्यक्ष जितेन्द्र थापा, क्लबका नवनिर्वाचित अध्यक्ष केशव कार्की, कार्यक्रम संयोजक रबिन गौतम र क्लबका पदाधिकारीहरूले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिने प्रतिभाहरूलाई पनि सम्मान गरिएको थियो ।
सम्मानित हुनेमा लोक गायक सिताराम ताजपुरिया, पत्रकार विवेक भटराई, क्रिकेट खेलाडी प्रकाश कार्की, यूथ १७ राष्ट्रिय फुटबल टिमका खेलाडी निषकुमार श्रेष्ठ, उसु खेलाडी गौरव दवाडी, निर्माण व्यवसायी कृष्ण कुमार खड्का र बाल गायिका कञ्चन रिमाल रहेका छन् ।