सुनसरी । इटहरीका विभिन्न स्थानका बजार र चोकमा कुकुरको व्यवस्थापन नहुँदा समस्या थपिएको छ ।
चोक तथा गल्ली गल्लीमा हुलका हुल भेटिने कुकुरबाट सर्ने रोगको प्रकोप र सडक दुर्घटना समेत बढेको छ । तर यसको समाधानका लागि कतैबाट पनि पहल नभएको नगरबासीको गुनासो छ ।
kukur2
वर्षेनी मुख्य तथा सहायक सडकमा छाडा कुकुरको सङ्ख्या बढिरहेकाले सहरको सुन्दरताको साथै दुर्घटना समेत बढेको हो । कुकुरले मानिस तथा चौपायालाई टोक्ने गरेकाले रेबिज सङ्क्रमणको खतरा पनि बढेको छ । टोल टोल र चोक चोकमा देखिने छाडा कुकुरका कारण साँझ र बिहान हिँडडुल गर्न समेत मुस्किल बनेको स्थानीयको गुनासो छ ।
विभिन्न रोग र सङ्क्रमणबाट ग्रस्त छाडा कुकुरहरू बजार चौक तथा सडकमा जम्मा भएर साँझ बिहान कोकोहोलो मच्चाउने, रातभरी सुत्न नदिने र कुकुरकै कारण साँझमा बालबालिका घरबाहिर निस्कन सक्ने अवस्था नरहेको अभिभावकको भनाइ छ ।
kukur1
कुकुरबाट सर्ने रोगको प्रकोप र सडक दुर्घटना समेत बढेपछि यो विषय जटिल बन्दै गएको छ । साइकल र मोटरसाइकलमा सवार यात्रु पनि कुकुरले झम्टेर दुःख दिने गरेको इटहरी ९ की प्रतिक्षा थापा गुनासो छ ।
स्थानीय तहले सडक तथा गल्लीमा भेटिने बेवारिसे कुकुरको समस्यालाई सामान्य रूपमा लिने गरेका छन् भने प्रहरीसँग पनि ठोस योजना छैन ।
सहर बजारमा बढेका कुकुर नियन्त्रणका लागि ठोस उपाय अपनाउन स्थानीय बासिन्दाले स्थानीय तह र प्रहरीसँग माग गरेका छन् ।