इलाम । गोपाल बराल इलाम स्वास्थ्य कार्यालयमा मेडिकल ल्याब अधिकृतको रूपमा कार्यरत छन् ।

ताप्लेजुङ जिल्लाको फुङगलिङगमा २०४६ सालमा जन्मिएका बराल ९ कक्षा पढ्दै गर्दा माओवादी कार्यकर्तासँग नजिक भए । यो बेला उनी जम्मा १३ वर्षका थिए ।  

उनलाई सुरुमा फकाएर र पछि प्रशिक्षण दिएर माओवादी जनमिलिसिया बनाइयो । कलिलो उमेरमा माओवादीले सुरु गरेको सशस्त्र युद्धमा सहभागी भएका बराल भूमिगत भइरहँदा माओवादी सेनाको कम्पनी कमान्डर सम्म भए ।

सशस्त्र युद्धमा सहभागी हुँदा  उनले ४० भन्दा बढी साना ठुला युद्ध लडे । युद्धका क्रममा उनले सयौँ साथी र सहयोद्धा गुमाए । सयौँ उनका साथीहरू अहिले पनि घाइते र अपाङ्ग छन् । केही अहिले पनि बेपत्ताको सूचीमा छन् ।

युद्धका क्रममा उनले नजिकबाट मृत्यु देखे । कष्ट र दुख भोगे । पूर्वी नाका पशुपति नगरदेखि रामेछाप सम्म भएका आक्रमणमा उनी विभिन्न भूमिकामा प्रत्यक्ष रूपमा सहभागी भए ।

झापाको सुरुङगामा रहेको प्रहरी चौकी आक्रमणका क्रममा सामान्य घाइते भएका बरालको एउटा हातमा चोट छ । चोट बल्झिरहन्छ ।

माओवादी शान्ति प्रक्रियामा आएपछि भने उनी सामान्य जीवनमा फर्किए । अहिले उनी नेपाल सरकारको छैटौँ तहको अधिकृत पदमा कार्यरत छन् । सशस्त्र युद्धका बेला देखेको सपना, सामान्य जीवनमा कम ब्याक हुन गरेको सङ्घर्ष   सुनाए । देशको आमूल परिवर्तनका लागि सशस्त्र सङ्घर्ष गर्नु परेको बताउने माओवादी नेतृत्वले सत्ताका लागि गरेको हर्कत भने उनलाई सधैँ अमिलो र नमिठो लाग्छ ।

20230811_110339

हजारको बलिदानी को जगमा बनेका नेताहरुको व्यवहारले उनको मन पोलिरहन्छ । आफू सरकारी जागिरे भएर जीवन धान्न सक्ने भए पनि आफूसँगै लडेका साथीहरू खाडीमा पुग्दा उनलाई नरमाइलो लागेको ।

उनी युद्धका क्रममा घाइते र अपांगता भएकाहरूलाई भेट्न सक्दैनन् । सेल्टरदाता परिवारका सदस्य देख्दा तर्केर हिँड्न परेको सुनाउँछन् । उनीसँग ती परिवारले सोध्ने प्रश्नको जवाफ छैन । उनलाई आफ्नो जीवन प्रति कुनै गुनासो छैन । तर  आफैले लडेर ल्याएको व्यवस्था र आफ्नै कमाण्डरहरुसँग भने सन्तुष्ट छैनन् । उनीसँगै आफ्नै सुप्रिमो प्रति गुनासोको पोको छ ।

भनेजस्ता लुगा, मागे जस्तो खाना

IMG-20230813-WA0016

बरालको परिवार लेखपढ गर्ने परिवारमा पर्थ्यो । उनी कक्षाको पहिलो विद्यार्थी थिए । माओवादीको सशस्त्र आन्दोलन उत्कर्षमा थियो ।

स्कुलमा माओवादी कार्यकर्ताहरू आइरहन्थे । उनी माओवादीको सम्पर्कमा पुगे । एक दुई दिन कार्यक्रममा सहभागी भएर फर्कन  एक जना स्थानीय नेताले बराललाई आग्रह गरे । बरालले उनको आग्रह स्वीकार गरे । यो २०५९ सालको कुरा हो । 

माओवादी कार्यकर्ताको अनुरोधमा फुङ्लिंङबाट तत्कालीन फावा खोला गाविसमा हुने भनिएको कार्यक्रममा सहभागी हुन गएका बराल त्यसपछि विद्यालय फर्किन पाएनन् ।

उनले सुनाए, “माओवादीको कार्यक्रममा जाँदा सेना र पुलिसको थ्रेट हुन्छ भन्ने थाहा थियो । तर माओवादीको मोटिभेशनका कारण जाने हो भन्ने अवस्थामा पुगिएछ । त्यो बेलाको कलिलो दिमाग न हो ।”

उनले अरू साथीहरूलाई पनि जाम भने । बरालको आग्रहमा अन्य ५ जना साथीहरू पनि जान तयार भए । उनीहरू माओवादी कार्यकर्ताको पछि लागेर हिँड्दै हिँड्दै फवा खोला पुगे । फवा खोलामा खास कार्यक्रम थिएन। एउटा मिटिङ जस्तो रहेछ।

आज भोली भन्दै  उनलाई फर्काउन आनाकानी गरे । फावा खोला गाउँ भरी हल्ला चल्यो । स्कुलबाट माओवादीको कार्यक्रममा सहभागी भएकाहरूलाई सेनाले खोजिरहेछ । गाउँमा सेनाले सर्च गरिरहेको छ । तपाँईहरुलाई सुरक्षा चुनौती हुन्छ । न फर्किनुस् । सुरक्षा थ्रेट छ ।

बरालले सुनाए,“सेनाले खोजिरहेको छ भनेपछि डरले गाउँ र स्कुल फर्किने कुरा भएन । पछि बुझ्दा थाहा भयो यो त माओवादीले नै स्कुल नफर्कीयोस भनेर चलाएको हल्ला रहेछ । ”

सुरुका दिनहरूमा घरको याद आइरह्यो । तर फर्कन सक्ने अवस्था थिएन । घरको सम्झना नआओस् भनेर हामीलाई माओवादीले गर्ने व्यवहार भने एकदमै राम्रो थियो । पाहुनाको जस्तो व्यवहार गरे । उनले सुनाए,“भने जस्ता जुत्ता आए । भने जस्ता लुगा ।”

बरालका अनुसार,घरमा हुँदा कहिल्यै लाउन नपाएका जुत्ता र लुगा लाउन पाउँदा उनीहरू मक्ख भए । उनले सम्झिए,“माओवादीमा गएपछि राम्रा राम्रा लुगा जुत्ता लाउन पाइयो । खानामा पनि मिठो मसिनो नै दिए । यो एक महिना सम्मको कुरा हो ।”

मिलिसिया तालिम

baral

ठाउँ पनि उस्तै सङ्गत पनि उस्तै । एक महिना सम्ममा बराललाई माओवादी पार्टी र सिद्धान्त मन पर्न थाल्यो । उनी अव गाउँ फर्कने भन्दा उतै रमाउन थाले ।

एक महिना बित्यो । त्यसपछि उनका कष्टका दिन पनि सुरु भए । उनले पहिलो पटक मकैका च्याँख्ला खाए । स्कूसको झोल तरकारी हुन थाल्यो ।

एक महिना पछि मिलिसियाको तालिम लिन थाले । जङ्गलमा लुक्ने, शत्रु पहिचान कसरी गर्ने । हिट रन कसरी गर्ने ?दुई महिना पछि उनले अर्ध सैनिक बलको तालिम सके । उनी  मिलिसिया बन्दै अर्ध सैनिक फोर्समा सहभागी भए । उनी तालिम सकिदा उनी जनमिलिसियाका सहायक कमान्डर बने । त्यसपछि उनी वास्तविक सशस्त्र आन्दोलन थाहा पाए । उनलाई २ महिनामा संसारै यही हो जस्तो लाग्न थाल्यो ।

उनका अनुसार मिलिसियाको फौजमा सामान्य लेखपढ गर्न जान्नेहरू पनि कम थिए । लेख पढ गर्न नजान्नेहरूका बिचमा आफूले नौ कक्षा सम्म पढेकाले आफूलाई सहायक कमान्डर बनाइएको बरालले बताए । 

मिलिसियामा हुँदा माओवादीको च्यानलबाट जे कुरा आउँछ त्यही पढ्थे । उनले विश्व कम्युनिस्ट आन्दोलन, विभिन्न देशमा भएका कम्युनिस्ट आन्दोलन र सशस्त्र युद्धका बारेमा पढे । कम्युनिस्टले पालना गर्नु पर्ने अनुशासनका कुराले उनलाई लाग्यो,“यो युद्ध साँच्चै राम्रोको लागि भएको रहेछ । आमूल परिवर्तनकै लागि मैले घर छाडेछु ।” उनी देश बनाउने काममा सहभागी भएकोमा खुसी थिए । 

पहिलो सैन्य कारबाही 

मिलिशियासमा  हुँदा सामान्य हतियार मात्रै हुन्थ्यो । भूमिका पनि खास थिएन । उनलाई सेनामै भर्ना हुन अफर आयो । उनलाई हतियार बिना लुकी लुकी हिँड्दा कतिखेर मरिन्छ ? भन्ने लागि रहेको थियो ।

सेना भएपछि हतियार बोक्न पाइन्छ आइपरे ठोक्न पाइन्छ भनेर उनी सेनामा भर्ना हुन तयार भए । कुकुर जस्तो मारिनु भन्दा मारेर मर्नु ठिक हो । हतियार भएपछि भागेर मरिँदैन भन्ने लाग्यो । उनले भने,“ यही सोचेर मिलिसियाबाट जनमुक्ति सेनामा भर्ना भए ।”

तालिम छ महिना चल्यो । हिँड्दै गरिने तालिममा उनले हतियार चलाऊ न नै एसएलआरबाट सिके ।

२०६० साल फागुन १९ गते भोजपुर सदरमुकाममा भएको आक्रमण उनी सहभागी भएको पहिलो सैन्य कारबाही थियो । पश्चिम तिर माओवादीले विभिन्न आक्रमणहरू गरी रहेको थियो । पूर्वी कमान्ड अन्तरत भने माओवादीले ठुला खाले आक्रमण गर्न सकेको थिएन । 

योजना अनुसार ठुलो खाले आक्रमण गर्नु पर्छ भन्दै सेनालाई पश्चिम तर्फ मुभ गराइयो । तर कहाँ र कहिले  आक्रमण गर्ने भन्ने चाहिँ थाहा थिएन । मिसनका लागि जाने हो ? मिसन कहाँ र कहिले भन्ने जानकारी थिएन ।   

ताप्लेजुङ कार्यक्षेत्र भएको पूर्वी कमान्ड अन्तरगतको १९ नम्बर बटालियनको ए कम्पनीका सदस्य बराल एक महिना अघिबाट फौज सहित पश्चिम तर्फ लागे । 

उनी पहिलो पटक लडाइँमा सहभागी भएका कारण उनको भूमिका भने सर्पोटिंग फोर्सको रूपमा मात्रै थियो । सिधै आक्रमण गरेर फायर गर्नु उनको जिम्वोरी थिएन ,उनले सुनाए आक्रमणका क्रममा घाइते भएकाहरूलाई उपचार स्थलसम्म ल्याउने,मृत्यु भएकाहरूको शबको व्यवस्थापन गर्ने जिम्मा मेरो थियो । 

उनले भोजपुरमा भएको आक्रमणमा घाइतेहरूको उद्धार र मृत्यु भएकाहरूको शव व्यवस्थापन गर्ने काम गरे । उनी खाली हात यता र उता कमान्डरको आदेशमा कुदे । लडाइँमा दोहोरो गोली चलिरहेको बेला घाइतेलाई बोकेर उपचार स्थलसम्म पु¥याए । अहिले सम्झन्छु, त्यो भन्दा खतरा केही हुँदैन रहेछ । भोजपुर आक्रमणका बेला रात भरी घाइतेको उद्धारमा लागे । 

रात भरी चलेको युद्धमा माओवादी तर्फ पनि ठुलो क्षति भएको थियो । उनी अहिले पनि भोजपुर आक्रमणमा यति नै माओवादी सेनाको मृत्यु भयो भन्न सक्दैनन् । 

IMG-20230813-WA0007 1

हिमाल खबर पत्रिकामा छापिएको समाचारमा भने भोजपुरमा भएको आक्रमणमा नेपाल प्रहरीका २० र नेपाली सेना १३ जनाको मृत्यु भएको उल्लेख छ । सो समाचारमा माओवादीका ६० जना भन्दा बढीको मृत्यु भएको दाबी छ । 

बरालले भने, “हाम्रा तर्फबाट पनि ठुलो क्षति भयो । तर माओवादीले भोजपुर आक्रमणलाई जितको रूपमा लिएको छ । हतियारहरू कब्जा गरेका थियौ । सेनासँग पूर्वी कमान्डमा पहिलो पटक भिडेर जितेका थियौ ।”  

अरुण तरेर नाना तमोर तरेर गीतको सृजना 

मणि थापाले सृजना गरेको र प्रदीप देवानले गाएको अरुण तरेर नाना तमोर तरेर गीत माओवादीहरूका बिचमा खुब लोकप्रिय छ । 

शान्ति प्रक्रियामा आएपछि माओवादी सम्बद्ध सास्कृतीक समूहले हरेक कार्यक्रममा  यो गीतमा नृत्य प्रस्तुत गर्थे । यो गीत पूर्वी क्षेत्रमा चर्चित थियो । यो गीतको सृजना सत्यमा आधारित भएको बताउँछन् बराल । 

भोजपुर आक्रमणका लागि माओवादी सेनाले सोलुको सोताङ एरियामा सैन्य अभ्यास गरेको थियो । पछि खोटाङको ऐसेलु खर्कको जङ्गलमा पनि सैन्य अभ्यास ग¥यो । कुनै ठलो आक्रमण गर्नु अघि उस्तै भूगोल भएको स्थानमा माओवादी सेनाले अभ्यास गर्ने गर्थे । सैन्य अभ्यासमा रहेको माओवादीको सेनामाथि ऐसेलु खर्कमा नेपाली सेनाले रातको समय आक्रमण ग¥यो । 

त्यो भिडन्तमा बटालियन कमान्डर,सहायक कमान्डर र कम्पनी कमान्डर लगायतको को मृत्यु भयो । यो भिडन्त हुँदा सँगै थिए तत्कालीन माओवादीका नेता मणि थापा । 

ऐसेलु खर्कमा भएको भिडन्तमा अलैँचीको पात भरी रगतको छिर्का थियो । बाटोमा रगतहरू थिए । यो भिडन्त भएपछि भोजपुर आक्रमण भएको थियो । भोजपुर आक्रमणलाई विजयको रूपमा लिँदै अरुण तरेर नाना तमोर तरेर आयौ हामी वीरताको गाथा कोरेर बोलको गीत रचिएको बरालले बताए । 

उनले सुनाए,“भोजपुर आक्रमण पछि हामी हाम्रो कार्यक्षेत्र ताप्लेजुङ तर्फ फर्किँदै थियौ । सँगैका साथीहरू मारिएका थिए । केही घाइते थिए । बाटोमा फर्कँदा हामीसँगै रहेका सास्कृतीक समूहका साथीहरूले यही गीत गाउँथे । हामी यी गीतमा नाच्दै रमाइलो गर्थ्यौ ।”अरुण तरेर नाना तमोर तरेर ......

पशुपतिनगर आक्रमण र ४२ जना प्रहरी कब्जा

मेची कोशीमा माओवादी सेनाको २ वटा बटालियन थियो । १८ नम्बर र १९ नम्बर बटालियन । यी दुई सेनाको बटालियनले पूर्वमा अर्को सापेक्षीत केन्द्रीकृत आक्रमणको योजना बनायो । 

मेची कोशी ब्युरोको योजनामा पशुपति नगरमा भएका आक्रमणमा भने बरालले आफ्नो रोल पाए । उनको रोल थियो भारतीय सीमा सुरक्षा बल एसएसवीलाई रोक्ने । उनी एके फोर्टी सेभेन हतियार सहित युद्धको मोर्चामा सहभागी थिए ।

सुरुमा भारतीय सुरक्षाकर्मीलाई यो लडाई तिमीहरूसँग होइन । हाम्रो आन्तरिक मामिला हो भनेर सम्झाउने, सम्झाउँदा पनि नमाने ठोक्ने योजना बन्यो  । इलामको जमुना भन्ने ठाउँमा आएर माओवादीले डिटेल योजना बनाएको थियो । नयाँ बजार गोर्खे हुँदै उनीहरू पशुपति नगर तर्फ आक्रमणका लागि हिँडे । 

बरालले सुनाए, “मेरो जिम्मा पूर्व पट्टी भारतीय सीमा सुरक्षा बललाई रोक्ने थियो । हामीले माइकिङ गरेर आक्रमण गर्दै छौ । नेपालको मुद्दा भएकाले तपाँइहरु चुप लागिँदिनस् हामी केही गर्दैनौ । पशुपति नगरमा फायर खोलेपछि एसएसवीले केही राउन्ड फायर खोल्यो । पछि उनीहरूले केही गरेनन् । हामीले पनि केही गरेनौ ।”

चौकी आक्रमणको जिम्मेवारी पाएका माओवादी सेनाले आधा घण्टामा नै  प्रहरी चौकी कब्जा ग¥यो । भिडन्तमा इन्स्पेक्टर सहित एक जना हवलदार मारिए । ४२ जना प्रहरीले आत्मसमर्पण गरे । यो २०६० साल चैत्रको २५ गतेको घटना थियो । 

चौकीमा भएका हतियार, सामग्री सहित र ४२ जना प्रहरीलाई कब्जामा लिएर पहिले आएकै बाटोबाट माओवादी सेना फर्कियो ।  

माओवादीले कब्जामा लिएका प्रहरीलाई ९ दिन पछि सङ्खुवासभाको गुफा पोखरीमा ल्याएर मानवअधिकार कर्मी र आइसीआरसीको जिम्मा लगाइयो  । 

पशुपति नगरबाट इलाम, पाँचथर, ताप्लेजुङको उच्च हिमाली क्षेत्र हुँदै सङ्खुवासभाको गुफा पोखरी सम्म आउँदा पटक पटक सेनासँग भिडन्त भएको भयो । 

सेनाले गौडा गौडामा छेक्थ्यो । कहिले हेलिकप्टरबाट आक्रमण हुन्थ्यो त कहिले लङ रेन्जबाट प्रहार गर्ने हतियारबाट । 

उनले सुनाए,“खानका लागि बोकेको चिउरा र सातु कब्जामा लिएका प्रहरीलाई खुवाउनु प¥यो । पशुपति नगरमा आक्रमण गरेको तीन दिन सम्म केही नखाई हिँडियो । तीन दिन पछि हात थापेर अलिकति सातु खाए । भोक भोकै पहाडी र हिमाली भाग काटियो ।” 

बाँच्नका लागि खानु थियो । अघाउनका लागि होइन । उनले सुनाए,पाँचथरको फालेलुगमा साथीहरूले चौँरी काटेछन् । पकाउनका लागि आगो बालेको धुवाँ देख्नसाथ सेनाले हेलिकप्टरबाट आक्रमण ग¥यो । लङ रेन्जका हतियारबाट समेत आक्रमण भयो । चौरीको काँचै मासु समेत खान पाइएन । 

पाँचथरमा भएको रोल कल र बन्दीपुरको त्यो भिडन्त 

पशुपतिनगर आक्रमण पछि नर्मल अवस्था थियो । कुनै ठुलो आक्रमण भएको थिएन । पाँचथरमा भएको बेला अचानक रोल कल भयो । कमान्डरले सोधे एसएलसी पास गरेका को को हुनुहुन्छ ? पास हुनेले हात उठाउनु ? नौ कक्षा पढ्दा पढ्दै मिलिसिया भएका बरालले वरी परि हेरे । हात उठाउने कोही देखेनन् । उनलाई लाग्यो पक्कै केही अवसर हुन सक्छ । त्यसपछि उनले डराइ डराई हात उठाए । 

कमान्डरले सोधे, साँच्चै पास गरेको हो ? बरालले भने, म कक्षाको पहिलो विद्यार्थी हूँ । एसएलसी दिँदा दिँदै सेनाले टार्गेट बनायो । परीक्षा सकेर पार्टीमा लागेको रिजल्ट हेरेको छैन । मलाई विश्वास छ पास हुनुपर्छ । 

यसपछि उनको भूमिका फेरियो । उनी मेडिकलको तालिममा सहभागी हुन पाए । एक महिना मेडिकल तालिममा सहभागी भएपछि उनले युद्धमा घाइते भएकाहरूको उपचार गर्नु प¥यो । 

माओवादीले नै आयोजना गरेको तालिममा उनी द्धितिय भए । मेडिकल तालिममा दोस्रो भएपछि उनी पूर्वी कमान्ड कार्यालयमा सरुवा भए । पूर्वी कमान्ड कार्यालयमा त्यो बेलाका प्रमुख थिए रामबहादुर थापा बादल । उनी बादलसँगै बसेर काम गर्न थाले । त्यसपछि उनले आइसीआरसीले दिएको वार क्याजल ट्रिटमेन्टको तालिम लिए । 

द्धन्द ग्रस्त मुलुकका विद्रोहीहरूलाई वार क्याजल ट्रिटमेन्ट सम्बन्धी तालिम लिने नर्वेजियन डाक्टरबाट लाइफ सेभिंग सर्जरीको तालिम पाए । 

त्यसपछि उनले युद्धमा घाइते भएकाहरूको उपचार कसरी गर्ने ? ज्यान कसरी बँचाउने भन्ने आधारभूत ज्ञान प्राप्त गरे । माओवादीमा लागेपछि गोपाल बाट शक्ति भएका बराल त्यसपछि भने  डा शक्ति नामले परिचित भए । 

उनी अव युद्ध स्थल मै गएर घाइते भएका सेनाहरूको उपचार गर्न थाले । उनलाई सधैँ सम्झनामा आइरहने भिडन्त भने सिराहाको बन्दीपुर भिडन्त हो । 

त्यहाँ सेनाको ब्यारेकमा आक्रमण गरिएको थियो । सो आक्रमणमा माओवादी तर्फ ठुलो हाताहाती भयो । त्यो आक्रमणमा ४० भन्दा बढी माओवादी सेनाको मृत्यु भयो । २ सय ५० भन्दा बढी घाइते भए । उनले त्यही रात ६० भन्दा बढी घाइतेलाई फस्ट एडको काम गरे । 

उनले सम्झिए, हामीले लन्चर,रकेट र मोटार हानेपछि सेना बस्ने घर भत्किन्छ भन्ने अनुमान गरेका थियौ । तर जति हान्दा पनि भवन भत्किएन । हाइवेमा भएको बिजुली काटने नसकेपछि उताबाट ताकी ताकी गोली हानियो । हाम्रो तर्फ ठुलो क्षति भयो । 

रात भरी भएको भिडन्तमा माओवादी सेनाका सबै गोली सकिए । बाध्य भएर मोर्चा छाडेर भागियो । लडाई हारेर भागियो । सेना माथि गरेका आक्रमणमा ग्वाँ भएर हिँडियो ।  यो घटना २०६२ साल वैशाख २६ गतेको हो । 

चुलाचुली शिविरको बास, औपचारिक पढाइको आस  

माओवादी शान्ति प्रक्रियामा आएपछि बराल फस्ट डिभिजन अन्तरगत टाँडीमा रहेको शिविरमा बस्न थाले । शिविर मै बसेका बेला उनले खुल्ला विद्यालयबाट प्रथम डिभिजनमा एसएलसी पास गरे । 

शिविरको बसाइमा उनले विराट हेल्थ कलेजबाट सिएम ए पास गरे । उनले अहेबसँग सँगै प्लस टु पनि गरे । शान्ति प्रक्रिया निष्कर्षमा पु¥याउन काम भइरहँदा उनले विराट हेल्थ कलेज विराटनगरमा ल्याब टेक्निसियन पढ्न थाले । उनको पढाइमा विभिन्न दातृ निकायले आर्थिक सहयोग गरे । उनले उर्लाबारी क्याम्पसमा व्याचलर पनि पढ्न थाले । 

शिविरमा पढाई प्रति एकदमै नकारात्मक धारणा थियो । उनले सुनाए,“कमान्डर भएकाहरूको क्वालिफिकेशन थिएन । मैले एकेडेमिक प्रमाण पत्र लिन्छु भनेर  पढ्नलाई शिविरमा ठुलो लडाई गर्नु प¥यो । हामीले बुर्जुवा शिक्षा लिनु हुँदैन भनेर मलाई पढ्नबाट वञ्चित गर्न खोजियो । ”

IMG-20230813-WA0017

कमान्डरहरूबाटै पढ्नबाट रोक्न खोजे पनि उनी रोकिएनन् । माओवादी सेना समायोजन हुने बेला सम्ममा उनले ल्याब टेक्निसियन र व्याचलर दुवै सके । 

सेना समायोजन हुँदा सेनामा अधिकृत भएर जान चाहन्थे । तर लडाकुमा भर्ना हुँदा एसएलसी पास गरेकाहरूलाई मात्रै सेनाको अधिकृत बनाउने मापदण्ड कायम भयो । उनले माओवादी सेनामा जाँदा नौ कक्षा मात्रै पढेका थिए । उनले सेनाको सपना हापे र ६ लाख रुपैयाँ लिएर सामान्य जीवनमा फर्कने निधो गरे । 

सामान्य जीवनमा फर्किएसँगै उनले लोकसेवाको तयारीमा लागे । पहिलो पटक वैकल्पिकमा नाम निकालेका बरालले दोस्रो पटकमा छैटौँ तहको अधिकृतमा नाम निकाले । 

छाती खुल्ला, शिर ठाडो पारेर हिँड्न सकिन्न 

माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादी जस्तो नभएकोमा उनलाई गुनासो छ । जसले भोलेन्टियर ज्यान दिन तयार भयो तर ज्यान दिए बापत के पाए त ?  उनले भने,“ निःशुल्क ज्यान दिन सक्ने फोर्सको सम्पत्ति भएको माओवादी नेतृत्वले मिसबिहेव ग¥यो । माओवादी सकिनुको कारण त्यहीबाट शूर भयो ।”

उनले माओवादी आन्दोलन र पार्टी क्षतविक्षत अवस्थामा पुगेको बताए । उनले चैते कमरेडहरूले पार्टी बिगारेको बताए । उनले भने, “हिजो आएका कमरेडहरूलाई च्याप्ने काम नेताहरूले गरे । नेताहरूले त्यहीबाट गल्ती सुरु गरे ।”

घाइते अपांङगता भएका र सहिदका परिवार देख्दा रुन मन लाग्छ नि । उनले सुनाए अहिले पनि घाउ बल्झियो भनेर साथीहरूले फोटो हाल्छन् । आफ्नै पनि हातमा भएको चोट बल्झिरहन्छ । सम्झँदा रुन मन लाग्छ । 

हामीलाई गर्नु पर्छ भन्ने थिएन । हाम्रो आफ्नो स्वार्थ भन्ने नै थिएन । हाम्रो माग पनि कृहि थिएन । राष्ट्रिय स्तरको परिचय पत्रको खोस्टे देऊ भन्ने थियो । 

उनले भने, अरूले त दिएनन् दिएनन् आफ्नै नेता पटक पटक प्रधानमन्त्री हुँदा सम्म हामीलाई साइन गरेर एउटा प्रमाण पत्र सम्म दिएनन् । 

२०६४ को पहिलो संविधान सभाको निर्वाचनबाटै माओवादी आउट अफ ट्याक भएको बराल बताउँछन् 

उनले अहिले त माओवादी नेताहरूमा माओवादीको कुनै गुण नै नभएको बताए । हिजो नेताहरूका लागि ज्यान दिन भोलेन्टियर रूपमा बन्दुक पड्काएको कुरा त सुनाउन पनि लाज हुने स्थिति आएको छ । छाती खोलेर मैले देशको लागि रगत बगाएको हो भन्न सक्ने अवस्था पनि आएन । उनले भने,“माओवादी नेताहरूले छाती खोल्ने र शिर ठाडो पार्ने अवसर सम्म दिएनन् ।”